भलिबल टोली फाइनल पुगे लाख इनाम पाउने



नेपाल समाचारपत्र
काठमाडौं
इम रानामगरको कप्तानीमा रहेको नेपाली भलिबल टोलीले एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जिते २ लाख नगद पाउने भएको छ।

बुधबार बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले उपाधि जितेमा टोलीलाई २ लाख नगद दिने घोषणा गरेका हुन्। सदस्य सचिव विष्टले उपविजेता भएको खण्डमा पनि जनही १ लाख रुपियाँ पुरस्कार प्रदान गरिने जानकारी दिए।
आगामी अप्रिल २१ देखि २८ तारिखसम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगितामा नेपाल र घरेलु टोली बंगलादेशसँगै साविक विजेता कीर्गिस्तान, तुर्कमेनिस्तान, माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहनेछ। नेपाल अघिल्लो संस्करणमा तेस्रो भएको थियो, जुन नेपाली भलिबल इतिहासमा अहिलेसम्मकै ठूलो उपलब्धि पनि हो। नेपालले यसपटक स्वर्ण जित्ने लक्ष्य लिएको छ। टिमका कप्तान इम रानाले यसपटकको तयारी राम्रो रहेकाले फाइनलसम्मको यात्रा तय गरी उपाधि जित्ने टिमको लक्ष्य रहेको बताए। उनले सेटरको भूमिका निर्वाह गर्नेछन्।

त्यस्तै अन्य खेलाडीमा दीपकराज जोशी, हरि अधिकारी, सुरेन्द्रबहादुर बम, धनबहादुर भट्ट, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, नरेन्द्र गिरी, राजु शेरचन, दिनेशराज गिरी, ईश्वर थापा र विनोदबहादुर चन्द रहेका छन्। टिमको प्रशिक्षकको भूमिकामा बलराम क्षेत्री र जगदीश भट्ट रहेका छन्। क्वीक स्पाइकरको रूपमा दीपक जोशी र सुरेन्द्र बमसँगै ५ खेलाडीले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।
नेपाली टोलीका मुख्य स्पाइकर मानबहादुर श्रेष्ठले यसपटक धेरै राम्रो तयारी भएकाले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिइएको बताए। ‘लामो समयसम्म क्याम्पमा रहेर तयारी गर्न पायौं, तर, केही मुख्य खेलाडी चोटग्रस्त हुनुले समस्या पारेको छ। नयाँ खेलाडी प्रतिभावान् छन्। पक्कै पनि राम्रो हुनेछ।’ –श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस्