ट्रम्पद्वारा किमसँग प्रत्यक्ष वार्ताको खुलासा, सीआईए प्रमुख र किमबीच भेट



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको उत्तर कोरियाली नेता किम जोङ उनसँग प्रत्यक्ष वार्ता भएको बताएका छन्। यद्यपि ट्रम्पले अमेरिकाको तर्फबाट कसले किमसँग वार्ता गरेको हो भन्ने विषयमा खुलासा गरेका छैनन्।

शुरुमा राष्ट्रपति ट्रम्प र किम जोङ उनबीच प्रत्यक्ष वार्ता भएको समाचार आइरहेको थियो। तर, वासिङ्टन पोस्टको एक समाचारमा सीआईए (अमेरिकी गुप्तचर एजेन्सी) का निर्देशक माइक पोम्पियोले इस्टको अवसरमा उत्तर कोरियाको गोप्य भ्रमण गरेको उल्लेख गरिएको छ। समाचारअनुसार भ्रमणका क्रममा माइक पोम्पियोको किम जोङ उनसँग भेटघाट भएको थियो।

ट्रम्पले दुई देशका नेताबीचको भेटवातालाई ऐतिहासिक बनाउन उत्तर कोरियाली अधिकारीहरुसँग अमेरिकी अधिकारीहरुको कुराकानी भइरहेको पनि बताएका छन्।

उनले भने– ‘हामीले अत्यन्त उच्चस्तरमा सीधा वार्ता गरेका छौं।’
राष्ट्र«पति ट्रम्पले उत्तर कोरियाका नेता किमसँग भेटवार्ताका लागि ५ स्थानमा विचार भइरहेको बताए।

जापानको सुरक्षा चिन्ता
राष्ट्रपति ट्रम्पले उक्त कुरा जापानका प्रधानमन्त्री सिन्जो आबेको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन्। प्रधानमन्त्री आबे ट्रम्पसँग वार्ताका लागि फ्लोरिडा पुगेका थिए।

आबेले भने– ‘यो वार्ताका क्रममा कोरियाली प्रायद्विपमा जापानको सुरक्षाको चिन्तालाई विचार गरिनेछ भन्ने अपेक्षा गर्दछु।’

जापानमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग वार्ताका लागि जापानलाई पन्छाउन सक्ने आशंका रहेको छ। जापान, अमेरिकाका प्रमुख सहयोगी र उत्तर कोरियाका छिमेकी मुलुक हो।

राष्ट्रपति ट्रम्पले गत महिना अन्तर्राष्ट्रिय समुदायलाई आश्चर्यमा पार्दै उनले उत्तर कोरियाको तर्फबाट आएको प्रत्यक्ष वार्ताका प्रस्तावलाई स्वीकृत गरेको बताएका थिए।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनले जुन वा त्योभन्दा पहिला भेटवार्ता हुन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्