चेसको उपाधि हर्षलाई



काठमाडौं, (नेस)
काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस च्याम्पियनसिपको उपाधि २४२४ रेटेड भारतीय इन्टरनेसनल मास्टर हर्ष भाराथाकोटीले जितेका छन् ।

हर्षले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्रान्डमास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि उचालेका हुन् । ६ खेलमा जित निकाल्दा ३ खेल बराबरीमा टुंग्याएर च्याम्पियन बनेका उनले नगद २ लाख पुरस्कार पाएका छन् ।

अपराजित रहेका अजरले ५ खेलमा जित र ४ खेलमा बराबरी खेल्दै उपविजेता पुरस्कार राशि १ लाख २० हजार रुपियाँ प्राप्त गरे । समान ७ अंक भए पनि मिर्जोभसँग टाइब्रेकको आधारमा पछि पर्दै युक्रेनका २५४९ रेटेड ग्रान्डमास्टर तार्लेभ कन्स्टेन्टिन तेस्रो भए । उनले ८० हजार रुपियाँ पुरस्कार हासिल गरेका थिए । भारतका २२८५ रेटेड इन्टरनेसनल मास्टर पी श्यामनिखिल चौथो र इजरायलका २४९० रेटेड ग्रान्डमास्टर ग्रिनफिल्ड अलोन पाँचौं हँुदै क्रमशः ५० र ३० हजार रुपियाँ हात पारे ।

नेपाली खेलाडीको निराश प्रदर्शन

नेपाली खेलाडीहरूको लागि यो प्रतियोगिता त्यति मीठो रहेन । नेपालका खेलाडी शीर्ष २० स्थानभित्र पनि पर्न सकेनन् । नेपाली खेलाडीकै स्थान छनोट गर्दा रुपेश जयसवाल पहिलो भएर १५ हजार रुपियाँ पुरस्कार पाए । नेपालका उच्च वरियताका २२६३ रेटेड खेलाडी विवेक थिङ दोस्रो स्थानमा रहे । उनले १० हजार रुपियाँ पुरस्कार पाए । पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ तेस्रो स्थानमा रहे ।

नेपालका बद्रीलाल नेपाली ५० वर्ष माथि उमेर समूहमा पनि तेस्रो स्थान हात पार्न सफल भए । अन्तिम चरणमा बद्री भारतका श्रीजीत पाउलसँग पराजित भएका थिए । उक्त समूहमा भारतका इन्टरनेसनल मास्टर अनुप देशमुख पहिलो र केभी शान्ताराम दोस्रो भए ।

१८०० मुनि रेटेडमा मनिराज डाँगी तेस्रो भए भने बेस्ट अनरेटेडतर्फ नेपालका प्रणित अमात्य तेस्रोमा रहन सफल भए । १८ वर्षमुनि महिलातर्फ तेजश्वीनी तामाङ तेस्रो, १४ वर्षमुनि महिलातर्फ मार्सल तामाङ पहिलो भइन्। नेपाली महिलातर्फ कृपा अधिकारी, शान्ति धिमाल र खुश्बु थापा प्रथम, दोस्रो र तेस्रो भए । उनीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार पाए।

प्रतिक्रिया दिनुहोस्