सिन्डिकेटेहरूकै जय !



यतिबेला यातायात व्यवसायीको रडाको छ, रुवाबासी छ मुलुकमा सिन्डिकेटका नाममा । तर जताततै सिन्डिकेट नै सिन्डिकेट देखिरहेछ धरहरा । व्यक्तिको क्लबमा सिन्डिकेट हाबी हुनु ठूलो कुरा होइन तर धरहराको अग्लो आँखाबाट हेर्दा सिंहदरबारदेखि स्यालदरबारसम्म सिन्डिकेट नै सिन्डिकेट देखिन्छ ।

बीसौं वर्षदेखि सिन्डिकेटमा खेल्दै आएका छन्– नेता–मन्त्रीहरू। वडा सदस्यदेखि प्रधानमन्त्रीसम्म, पार्टीका कार्यकर्तादेखि अध्यक्षसम्मलाई सिन्डिकेटमै रमाउन, खेल्न मन पर्छ । नपरून्जेल मात्र ठूला कुरा हुन् अवसर पाएपछि सबै सिन्डिकेटे हुन्छन् । केपी शर्मा ओली र पुष्पकमल दाहालको सिन्डिकेटले अहिलेसम्म दुई पार्टीबीच एकता हुन सकेन । सिन्डिकेटकै कारण कांग्रेस लथालिंग र भताभुंग छ ।

रोल्पा–रुकुमको ‘बोकेदारी’ र ‘चिम्साआँखा’को सिन्डिकेटले माओवादी केन्द्र विकेन्द्र भइसक्यो । चित्रबहादुरदेखि सीपी मैनालीसम्म, महन्थ ठाकुरदेखि कमल थापासम्ममा सिन्डिकेटले बारम्बार घर गरिरहेकै छ । विद्यार्थी युवा, महिला, कला–साहित्य, चलचित्र, गीत–संगीत, शिक्षा, धर्म, दर्शन आदि क्षेत्रमा सिन्डिकेट नै देख्दा वाक्क लाग्छ धरहरालाई । ब्युरोक्रेसी याने कर्मचारीतन्त्रमा झन् खतरनाक सिन्डिकेट छ । मन्त्री नेताको चाकडी गरेरै सचिव, हाकिम जनताका काम–कारबाहीमा समेत सिन्डिकेट कायम गर्न चाहन्छन् ।

सचिव–हाकिमको विश्वासिलो ‘सीआईडी’ बनेर तत्तत् तहका कर्मचारी सधैं उनीहरूकै सिन्डिकेटे बन्न खोज्छन् । यी सबै सिन्डिकेटेहरूलाई ‘वाच’ गर्ने पत्रकार र मिडियाले हो, यसमा पनि चौतारो, रूख, हँसिया, महिला, आदिवासी, जनजाति, मधेस, दुर्गम, शहर र गाउँ आदिका नाममा सिन्डिकेट नै सिन्डिकेट देखिन्छ । त्यसैले धरहरालाई घोक्रो फुट्ने गरी भन्न मन लाग्छ– ‘सिन्डिकेट जिन्दावाद, सिन्डिकेटेहरूकै जय ।’

प्रतिक्रिया दिनुहोस्