खेलकुद क्षेत्रमा झापाली खेलाडीको महत्वपुर्ण भूमिका



भद्रपुर । प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवा(एलपी)ले नेपाली खेलकुद क्षेत्रको विकास र उन्नतीमा झापाली खेलाडीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

दशौं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको मङ्गलबार उद्घाटन गर्दै साँवाले यस्तो बताएका हुन् ।
झापाले राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएकाले आम झापालीका लागि गौरवको विषय भएको उल्लेख गरे ।

झापा खेलाडीहरुको उर्वरभूमिका रुपमा स्थापित भइसकेको तर्क पेश गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य साँवाल विश्वसामु नेपालको शिर उच्च राख्न झापाले आर्जन गरेको गरिमा मुलुककै लागि प्रशंसनीय भएको धारणा राखेका थिए ।

उनले खेलकुदको माध्यमबाट झापाले प्राप्त गरेको ख्यातीलाई उँचो राख्न र खेल अभ्यासमा निखारता ल्याउन खेलाडीहरुलाई शुभकामना व्यक्त गर्दै सम्बद्ध खेलका प्रशिक्षकलाई पनि दक्ष खेलाडी उत्पादनमा विशेष जोड दिन अपिल गरेका थिए ।

प्रतियोगिता उद्घाटनका अवसरमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, नेकपा एमालेका जिल्ला सदस्य तथा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

३ दिवशिय प्रतियोगिता उद्घाटनका अवसरमा धुलाबारीस्थित इष्ट होराइजन अङ्ग्रेजी आवाशिय माविको स्कटिज ब्याक पाइपर ब्याण्डले डिस्प्लेसहित स्पोर्टस माक्स ड्रिल र नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै झापा स्काउट, राष्ट्रिय सेवा दल, क्षेत्रीय प्रतियोगिताबाट जिल्लास्तरीय प्रतियोगितामा छनोटमा परेका खेलाडी, तेक्वान्डो, उसु, कराँते, बक्सिङ र हक्की खेलका खेलाडीले मार्च पास गरेका थिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वागत उपाध्यक्ष भेषराज भण्डारी(प्रशान्त) र सञ्चालन कार्यालय प्रमुख टहलदाश मैनाली र कराँते प्रशिक्षक दुर्गाराज निरौलाले संयुक्त रुपमा गरेका थिए ।
गत चैत २१ देखि ३० गतेसम्म झापाका ५ वटै निर्वाचन क्षेत्रमा सम्पन्न क्षेत्रीय छनोट प्रतियोगितामा भाग लिई विजेता तथा उपविजेता भएका विद्यालयले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रतियोगितामा क्षेत्र नम्बर १ बाट सामुदायिकतर्फ २० र संस्थागततर्फ ३८, २ बाट सामुदायिकतर्फ १९ र संस्थागततर्फ १४, ३ बाट सामुदायिकतर्फ २३ र संस्थागततर्फ २०, ४ बाट सामुदायिकतर्फ २४ र संस्थागततर्फ २३ तथा ५ बाट सामुदायिकतर्फ २५ र संस्थागततर्फ ३७ वटा विद्यालयले भाग लिएका हुन् ।

भलिबल, कबड्डी र एथ्लेटिक्सका प्रत्येक इभेन्टमा विजयी एवँ उपविजयी बनेका तथा कराँते, उसु र तेक्वान्दोतर्फ छानिएका खेलाडीहरुले जिल्लास्तरीय छनोटमा प्रतिष्पर्धा गरिरहेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम, राष्ट्रिय खेलकुद परिषद्को संयोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु सो प्रतियोगिता बिहीबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्