पूर्व प्रथम महिला बुसको उपचार त्याग्ने निर्णय



वासिङ्टन, (एजेन्सी)
बिरामी अवस्थामा रहेकी अमेरिकी पूर्व प्रथम महिला बारबारा बुसले आफ्नो थप चिकित्सकीय उपचार गराउन अस्वीकार गर्दै आफ्नो परिवारसँग ‘आराम स्याहार’ केन्द्रमा जीवनको बाँकी समय बिताउन चाहेको बताएकी छिन्। पछिल्लो समयमा पटकपटक उपचारका लागि अस्पताल भर्ना भएकी ९२ वर्षीया बुसले सो निर्णय गरेको उनका पति जर्ज एचडब्ल्यू बुसको कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो।

प्रथम महिला रहेका बेला श्रीमती बुसले अन्य व्यक्तिहरूसँग मिलेर प्रौढ साक्षरतालगायतका अन्य अभियानमा निकै सक्रिय भूमिका निभाएकी थिइन्। हाल ९३ वर्ष पुगेका उनका पति अमेरिकाको इतिहासमै सबैभन्दा लामो समय बाँच्ने राष्ट्रपतिको रूपमा चिनिन्छन्। एचडब्ल्यू बुस अमेरिकाको एकचालिसौं राष्ट्रपति बनेका थिए। उनको पनि अहिले स्वास्थ्य अवस्था नाजुक भइसकेको छ। न्युमोनियाबाट पीडित भएपछि गतवर्ष उनलाई लामो समयसम्म सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।

विज्ञप्तिमा बारबार बुस नाजुक हुँदै गइरहेको स्वास्थ्यप्रति त्यति चिन्तित नरहेको र परिवारबाट घेरिएर बस्न रुचाउने उनले आफूलाई सन्देश पठाउने र आफ्ना लागि प्रार्थना गर्नेहरूलाई प्रशंसा र धन्यावाद दिने गरेको पनि जनाइएको छ। तर सो विज्ञप्तिमा बुसको रोगबारे केही उल्लेख गरिएको छैन। सन् १९८९ देखि १९९३ सम्म अमेरिकी राष्ट्रपति रहेका बुसले भने पार्किन्सन रोगबाट ग्रस्त भएकाले ≈िवलचियर प्रयोग गर्ने गरेका छन्। बुस दम्पतीको ७३ वर्षअघि विवाह भएके थियो।

प्रतिक्रिया दिनुहोस्