बदलिँदो मातातीर्थ



देश–विदेशमा छरिएका नेपालीले आ–आफ्नै ढंग र शैलीले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन मनाएका छन्। यस अवसरमा आमाको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै मीठा–मीठा परिकार र गच्छेअनुसार नयाँ कपडा दिने संस्कार नै बनेको छ।

मातातीर्थ आंैशी थाहा नपाउने तर ‘मदर्स् डे’ राम्रोसँग थाहा पाउनेहरूको जमात शहर बजारमा ठूलो छ। उनीहरूले सोमबार भव्यताका साथ मदर्स् डे मनाएका छन्, फेसबुक, ट्विटर र अन्य सामाजिक सञ्जालमा फोटो पोस्टाएर। ‘माई लभ्ली मम लभ्य यु सो मच, मिस यु सो मच’ लगायतका व्यहोराका वाक्य सञ्जालभरि छताछुल्ल भएको देखियो।

घरमा छँदा ममलाई ‘बाल’ हान्नेहरू परदेश र विदेश लागेपछि त निकै परिवर्तन भएपछि धरहरा निकै छक्क प¥या छ। ‘यस्तो काम गर्नुपर्ने थियो बाबु’ ‘यसो गरन नानी’ भन्दै घरमा आमाले छोरा–छोरीलाई काम अह्राउँदा ‘भ्याउँदिन म बिजी छु, तिमी गर्दै गर’ भन्दै ठाडो जवाफ फर्काउनेहरू सामाजिक सञ्जालमा ममसहित टाँसिएको फोटो पोस्टिन तँछाड–मछाड गर्ने झनै धेरै देखिए।

विचरा⁄ ‘मम’हरूलाई के थाहा छोरा–छोरीले सामाजिक सञ्जालमा भए पनि धेरै माया र मिस गर्छन् बे। अनि घरकी आमालाई भेट्न र आशिर्वाद लिन नभ्याउने तर सासुलाई धेरै मिस गर्ने ज्वाइँसाबहरूलाई झन् के भन्नु र खै ?

प्रतिक्रिया दिनुहोस्