‘अमेरिका फेरि सिरिया आए विश्वमै अराजकता मच्चाइदिनेछौं’



काठमाडौं । सिरियालाई लिएर अमेरिका र रुसबीच तनाव कायमै छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘फेरि सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिनेछ ।’

डूमामा भएको भनिएको रासायनिक हमलाको जवाफमा अमेरिका, फ्रान्स र बेलायतले संयुक्त सैन्य कारबाही गर्दै सिरिया सरकारको तीन अखडामा बमबारी गरेका थिए ।

राष्ट्रपति पुटिनले अर्को कारबाही नगर्न चेतावनी दिएका छन् । रुसी राष्ट्रपतिको कार्यालयबाट जारी बयानमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले जोड दिएर भनेका छन् कि यदि राष्ट्रसंघ चार्टरको उल्लंघन गरेर यस्ता कारबाही हुने हो भने निश्चित रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति आउन सक्छ ।’

पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच फोन वार्ता भएको पनि कार्यालयले जनाएको छ । दुबै नेताले शनिबार भएको आक्रमणले सिरियामा जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासमा क्षति पुगेको निष्कर्ष निकालेका छन् ।

अमेरिकाले भने बसर अल असद सरकारलाई अर्काे तरिकाले पनि दबाब दिन थालेको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरिया सरकारसँग जोडिएका रुसी कम्पनीहरुविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने बताएकी छन् । अमेरिकाको आरोप छ कि सिरिया सरकारको कथित रासायनिक आक्रमणमा रुसी सहयोग छ ।

यसको जवाफमा रुसको माथिल्लो सदनको रक्षा समितिका उपनिर्देशकले भने रुस यो प्रतिबन्धका लागि तयार रहेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सीका अनुसार उनले भनेका छन्, ‘प्रतिबन्धले हामीलाई समस्या पैदा गर्न सक्छ । तर, हामीलाई भन्दा धेरै अमेरिका र युरोपलाई हानि र्पुयाउँछ ।’

प्रतिक्रिया दिनुहोस्