नर्भिक अस्पतालको एकरात



पुरुषोत्तमशमशेर जबरा
कुपन्डोल, ललितपुर

कुरा गत बुधबार (चैत २८ गते) को हो। मलाई सन्चो नभएकाले राजधानीको सुविधा सम्पन्न भनिने गरेको थापाथलीस्थित नर्भिक अस्पतालको इमर्जेन्सीमा लगियो। ९२ वर्ष पूरा गरी ९३ वर्ष लागेको यो वृद्ध उमेरमा कहिलेकाहीँ स्वास्थ्यमा गडबड हुनु स्वाभाविक नै मान्नुपर्छ। र, उपचारका लागि इमर्जेन्सीमा दौडाउनु परिवार एवम् आफन्तको कर्तव्य पनि हो।

सामान्य स्वास्थ्य जाँचपछि मलाई अब्जर्भेसनका त्यहीँ राखियो। त्यहाँ अरु पनि केही बिरामी थिए। मेरो छेउकै बेडमा अलि गम्भीर प्रकृतिको बिरामी राखिएको रहेछ। राति उनलाई निकै साह्रो भएछ। रातिको ड्युटीमा खटिएका नर्सहरू बिरामीको अवस्था देखेर धेरै अत्तालिएको देखियो। डाक्टरको खोजी भयो तर एकजना डाक्टर पनि उपस्थित भएनन्। बिरामीको अन्तिम अवस्था भएछ भनेर म पनि आत्तिएँ। नर्सहरूले हुनेसम्मको सावधानी अपनाए। म आफैं बिरामी, मैले गर्न सक्ने केही थिएन। धन्न भोलिपल्ट डाक्टर आउँदासम्म ती बिरामीलाई केही भएन।
नर्भिक हस्पिटल कुनै हेल्थपोस्टजस्तो होइन, २४ सै घन्टा डाक्टरको सेवा हुनुपर्ने सुविधा सम्पन्न निजी हस्पिटल हो। नाम चलेको नर्भिकमा मलाई राखिएको उपचार कक्ष नर्सहरूको भरमा चलेको देख्दा म निकै आश्चर्यचकित भएँ। भोलिपल्ट मात्र डाक्टर आएर बिरामी हेरे। रातिको अवस्था सम्झिएर म नबोली रहन सकिनँ। मैले भनें– ‘राति डाक्टरको खोजी हुँदा एकजना पनि डाक्टर देखा परेनन्, के बिरामीको सेवाका लागि खटिएका यी भर्खरका नर्सले डाक्टरी उपचार गर्न सक्छन् ?’ म कराएको सुनेर ड्युटीमा रहेका नर्सहरू केही बोल्न सकेनन्। यद्यपि राति डाक्टर भएको⁄नभएको बताउने आँट पनि गर्न सकेनन्। डाक्टरले अब यस्तो हुनेछैन भनेर माफी मागे। म सामान्य बिरामी भएकाले शुक्रबार नै डिस्चार्ज भएँ। तर ती गम्भीर बिरामीको अवस्था के भयो होला ?

सो रात कुन डाक्टरको ड्युटी हो, उनी किन आएनन् अथवा अन्य स्थानमा व्यस्त थिए कि ? अन्य अस्पतालतिर गएर तैं चुप मै चुप भएको हो कि ? अस्पताल प्रशासन यस कुरामा चनाखो हुनै पर्छ। हामी बिरामी र बिरामीका आफन्तका लागि त को डाक्टर, को नर्स, को हेल्थ असिस्टेन्ट, सेतो कोट लगाएका सबै उस्तै। नर्भिक मात्रै होइन, अब आइन्दा अन्य अस्पतालमा पनि यदि बिरामी राखिन्छ भने २४ सै घन्टा डाक्टरको निगरानी हुने व्यवस्था होस्।

प्रतिक्रिया दिनुहोस्