दिल्लीको पहिलो जित



नयाँ दिल्ली, (एजेन्सी)
आईपीएल ११ अन्तर्गत पहिलो जितको खोजीमा रहेका दुई टोलीको भीडन्तमा दिल्ली डेयरडेविल्सले बाजी मारेको छ।

शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई उसकै घरेलु मैदान वानखेडे स्टेडियममा दिल्लीले ७ विकेटले हराएको हो। यो दिल्लीको तेस्रो खेलमा पहिलो जित हो भने डिफेन्डिङ च्याम्पियन मुम्बईले लगातार तीन खेलमा हार बेहोरेको छ।

मुम्बईले पहिले ब्याटिङ गरेर दिल्लीलाई १ सय ९५ रनको लक्ष्य दिएको थियो। यो ठूलो लक्ष्य दिल्लीले मात्र ३ विकेट गुमाएर अन्तिम बलमा भेटायो। ओपनर जेसन रोयले नटआउट हुँदै ९१ रनको योगदान दिनु नै टोलीको जित भएको थियो। यसअघिका दुई खेलमा नदेखिएका रोयले शुरूदेखि नै आक्रमक ब्याटिङ गरेर टोलीलाई जिततिर अग्रसर गराएका थिए। उनले ५३ बलको सामना गरेर ६ चौका र ६ छक्का प्रहार गरे।

रोय र श्रेयास इएरले चौथो विकेटका लागि ४० बलमा आवश्यक ६० रन जोडेर टोलीलाई जित दिलाएका थिए। इयर २७ रनमा नटआउट रहे। जबकि ग्लेन म्याक्सवेल १३ रनमा तेस्रो विकेटको रूपमा पवेलियन फर्कंदा टोली दबाबमा आइसकेको थियो।

म्याक्सवेल आउनुअघि रिषभ पन्तले २५ बलमा ४७ रन जोडेर टोलीका लागि दबाब कम गरेका थिए। रोयसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी हुँदा पन्तले ६ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान गौतम गम्भीर भने १५ रनमै आउट भएका थिए। मुम्बईका बलिङमा कृणाल पाण्डेले २ विकेट र मुस्ताफिजुर रहमानले एक विकेट लिएका थिए। अरू भने विकेटविहीन हुँदै महगोसावित भएका थिए।

पहिले ब्याटिङ गरेको मुम्बईले घरेलु दर्शक र मैदानको फाइदा उठाएर निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९४ रन जोडेको थियो। जसमा पहिलो विकेटको साझेदारीमै १ सय २ रन बनेको थियो। ओपनर सूर्यकुमार यादवले ५३ रन र इभिन लेविसले ४८ रनको योगदान दिएका थिए। लेविसले २८ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गर्दा यादवको इनिङमा ७ चौकाको योगदान थियो। यसपछि इसान किशनले २३ बलमा ५ चौका र २ छक्का हान्दै ४४ रनको इनिङ खेलेर टोलीको रन बढाए। तर कप्तान रोहित शर्मासँगै अन्यले भने रन बटुल्न नसक्दा टोलीले २ सयभन्दा बढी रन बनाउने सम्भावना समाप्त भएको थियो। दिल्लीका बलरमा टे«न्ट बोल्ट, डेनियल क्रिस्टियन र टेवाटियाले २÷२ विकेट लिएका थिए। नेपालका सन्दीप लामिछानेका लागि आईपीएलमा डेब्यु गर्न यस खेलमा पनि मौका आएन।

प्रतिक्रिया दिनुहोस्