सिरियामाथि संयुक्त हवाई कारबाही



आक्रमणको भयंकर परिणाम आउने: रुस
१३ वटा क्षेप्यास्त्र खसालेको सिरियाको दाबी

मस्को÷वासिङ्टन, (एजेन्सी)
सिरियामा शनिबार अमेरिकाले गरेको क्षेप्यास्त्र आक्रमणलाई लिएर रुसले कडा चेतावनी दिएको छ । अमेरिका, फ्रान्स र बेलायतले सिरियामा गरेको आक्रमणको नतिजा भयंकर आउन सक्ने विज्ञप्तिमा उल्लेख गरेको छ । यो हमलाको परिणामले युद्धको रूप पनि लिन सक्छ भन्ने कुरा तीनै देशले बुझ्नुपर्ने रुसले जनाएको छ । मस्कोले जारी गरेको विज्ञप्तिमा सिरियामा भएको आक्रमणमा रुसका ठेगानालाई निसाना नबनाइएको पनि उल्लेख गरिएको छ ।

सिरियाली सरकारी सञ्चार माध्यमले त्यहाँको सरकारले अमेरिका र उसका सहयोगीद्वारा भएको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको जनाउँदै त्यसको घोर भत्र्सना गरेको जनाएको छ । सिरियाली सरकारले शनिबारको आक्रमणमा आफूले १३ वटा क्षेप्यास्त्र खसालेको दाबी गरेको छ ।
रुसी राष्ट्रपति पुटिनले अमेरिका र उसको सहयोगीको उक्त आक्रामक कार्यले सिरियामा मानवीय विनाशलाई बढाउने बताए । क्रेमलिनबाट जारी गरेको विज्ञप्तिमा रुसी नेताले तत्काल संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन गइरहेको बताए ।

पुटिनले उक्त आक्रमण अन्तर्राष्ट्रिय सम्बन्धको समग्र प्रणालीलाई नै ध्वंसात्मक प्रभाव पार्ने कार्य भएको बताए । उनले आक्रमणको प्रमुख कारण बनेको सिरियाली नगर डुमामा भएको कथित रसायनिक हमला नै झुठो भएको रुसको धारणा रहेको दोहो¥याए । रुसले उक्त कथित रसायनिक आक्रमणको सत्यतथ्य जाँचका लागि अन्तर्राष्ट्रिय रसायनिक हतियार नियन्त्रण संस्थाबाट छानबिन गर्न माग गरेको थियो ।
सिरियामा भएको आक्रमणलाई लिएर राष्ट्रको नाममा सम्बोन्धन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने– ‘यो हमला रुसद्वारा सिरियाको असद सरकारलाई रसायनिक हतियारको प्रयोग गर्नबाट रोक्न विफल हुनुको प्रत्यक्ष परिणाम हो।’ रुस र इरानजस्ता देशले मानवीयतालाई लज्जास्पद बनाउने देशको पक्षमा कसरी उभेको छ, सोच्नुपर्ने उनले बताए ।

रुसले अमेरिकाले आक्रमणको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । अमेरिका र सहयोगी देशले रुसको विचारलाई नसुनेको विदेशमन्त्री सर्गेइ लाभरोवले बताएका छन् । रुसले आफ्ना राष्ट्रपति पुटिनको अपमानलाई नसहने प्रस्ट पारेको छ ।

पूर्वी गुटाको डुमामा हालै सिरियाद्वारा रसायनिक हतियारको प्रयोगका कारण धेरैको ज्यान गएको र कयौं घाइते भएका थिए । उक्त हमलामा ७० भन्दा बढी मारिए । अमेरिकी राष्ट्रपति ट्रम्पले यस हमलाका लागि सिरियाली सरकारलाई दोषी ठह¥याउँदै सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए । त्यतिबेला अमेरिकाले उक्त हमलाका लागि रुस पनि दोषी भएको बयान जारी गरेका थिए ।
यसैबीच इरानका सर्वोच्च नेता आयातुल्लाह अली खोमेनीले सिरियामाथिको हमला अपराध भएको बताए । उनले अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायती प्रधानमन्त्री अपराधी भएको र उनीहरुलाई यसबाट कुनै उपलब्धि नहुने बताए ।

इरानी राष्ट्रपति हसन रुहानीले पनि अमेरिकी नेतृत्वमा सिरियामा भएको हमलाको कडा आलोचना गरेका छन् । उनले भने– ‘अमेरिकी हमलाले मध्यपूर्वमा विध्वंसबाहेक अर्को केही असर पर्ने छैन । पश्चिमी शक्ति मध्यपूर्वमा आफ्नो उपस्थितिलाई यी हमलाको माध्यमबाट सही ठह¥याउन चाहेका छन् ।

रसायनिक हतियारको प्रयोग सामान्य होइन: म्याक्रोन

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले सिरियाली सरकारद्वारा रसायनिक हतियार उत्पादन तथा त्यसको प्रयोग क्षमताविरुद्ध अमेरिका र बेलायतले शुरू गरेको अभियानमा फ्रान्स पनि आबद्ध रहेको बताएका छन् । सिरियाली राजधानीमा विस्फोटको आवाज सुनिएको केही समयपछि नै उनले एक बयान जारी गरी भने– ‘हामी रसायनिक हतियारको प्रयोगलाई सामान्य रूपमा लिने कुरा स≈य छैन ।’
हालै मात्र डुमामा अप्रिल ७ मा भएको रसायनिक हतियारको प्रयोगको उल्लेख गर्दै म्याक्रोनले भने– ‘फ्रान्सले सन् २०१७ मेमा जुन लक्ष्मण रेखा खिचेको थियो, सिरिया शासकले त्यसलाई नाघेका थिए ।’
आफूले फ्रान्सेली सेनालाई अमेरिका र बेलायतको गठबन्धनले चलाएको अन्तर्राष्ट्रिय अभियानमा समावेश हुन निर्देशन दिएको बताए । उक्त आक्रमणको निशानामा सिरियाली सरकारको गोप्य रसायनिक हतियार रहेको उनले थपे ।

उनले भने– ‘यस मुद्दामा अन्तर्राष्ट्रिय प्रतिक्रियामा दुई नेता मिलेर काम गर्न सहमत भए ।’
अमेरिकाले गत अप्रिल ७ मा डुमामा सिरियाली राष्ट्रपति बसर अल असद शासनका विद्रोही नियन्त्रित इलाकामा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग भएको प्रमाणित गरिसकेको जनाएको थियो । संयुक्त राष्ट्रमा फ्रान्सका राजदूत फ्रान्कोइस डेलात्रले भने– ‘आम नागरिकमाथि पुनः एकपटक प्रतिबन्धित रसायनिक हतियार प्रयोगको चयन गरेर असद शासन त्यो बिन्दुमा पुगेको छ, जहाँबाट फर्कने सम्भावना छैन ।’

टमहक क्षेप्यास्त्रको प्रयोग, तीन स्थान निसानामा
अमेरिका, बेलायत र फ्रान्सको संयुक्त हवाई हमलाको निसानामा सिरियाको रसायनिक हतियार विकास तथा भण्डारणस्थल रहेको बताइएको छ । अमेरिकाले यस आक्रमणमा टमहक क्रुज क्षेप्यास्त्रको प्रयोग गरेको थियो । आक्रमणको निसानामा दमास्कसस्थित एक रसायनिक हतियार अनुसन्धान केन्द्र, होम्सस्थित कमान्ड पोस्ट तथा हतियार भण्डारण र होम्सनकिकै रहेको रसायनिक हतियार भण्डारणस्थल भएको जनाइएको छ ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले आक्रमणको घोषणा गर्दै बसर अल असदको ‘आपराधिक’ सरकारलाई निसाना बनाउनका लागि सिरियामाथि अमेरिका, बेलायत, फ्रान्सले संयुक्त कारबाही थालेको बताएका थिए ।

ट्रम्पले भने– ‘केही समयअगाडि मात्रै मैले अमेरिकी सशस्त्र सेनालाई सिरियाली तानाशाह बसर अल असदको रसायनिक हतियार क्षमतासँग जोडिएका ठेगानाहरुमा सटिक हमलाका लागि आदेश दिएँ ।’
यस आक्रमण फ्रान्स र बेलायतसँग संयुक्त अभियानका रूपमा भएको उल्लेख गर्दै ती दुवै देशप्रति आफू आभारी रहेको उनले बताए ।

ट्रम्पले सिरियाका राष्ट्रपति असदमाथि आक्रमण गर्दै भने– ‘यो कुनै मानवको काम हुन सक्दैन । यो एक सैतानको मानवीयताविरुद्धको अपराध हो । आज राती भएको आक्रमणको पछाडि हाम्रो उद्देश्य रसायनिक हतियार निर्माण तथा प्रयोग गर्नेहरुलाई चेतावनी दिनु हो । रसायनिक हतियारको प्रयोग तथा निर्माण दुवैलाई रोक्नु हाम्रा उद्देश्य हुन् ।’

मिसन अत्यन्त सफल ः ट्रम्प
७१ क्षेप्यास्त्र बीचैमा नष्ट गरियो ः रुस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि गरिएको कारबाहीलाई लिएर ‘मिसन पूरा भएको’ बताएका छन् । उनले यसका लागि आफ्ना सेनालाई धन्यवाद दिए । केही खर्ब डलर खर्च गरेपछि अमेरिकी सेना विश्वको सबैभन्दा शक्तिशाली हुने र उसको वरपर कोही नहरने पनि उनले ट्विट गरेका छन् ।

रुसले उसको हवाई प्रतिरक्षा प्रणालीले अमेरिका, बेलायत र फ्रान्सले ती रसायनिक हतियार क्षेत्रमा प्रहार गरेका १ सय ३ क्षेप्यास्त्रमा ७१ वटालाई नष्ट गरेको दाबी गरेका छन् ।

शनिबार ७० मिनेटसम्म भएको उक्त आक्रमणमा बेलायतको ‘बन्कर बुस्टर’ नामले चिनिएको स्टर्म स्याडो क्रुज क्षेप्यास्त्र प्रयोग गरिएको थियो । उक्त अत्याधुनिक हतियारको तौल १ टनभन्दा बढी, लम्बाइ ५ मिटरभन्दा लामो रहेको छ र यसले जमिनमुनि छिरेर निसाना साध्न सकिन्छ ।

यीबाहेक बेलायतका चारवटा आएएफ टोर्नाडो जीआ४एस लडाकू विमान सिरियाविरुद्धको आक्रमणमा परिचालन गरिएको थियो । ती विमानले नै स्टर्म स्याडो क्षेप्यास्त्र पश्चिम होम्सबाट १५ माइलको दूरीमा रहेको एउटा सैन्य हतियार भण्डारणमा प्रहार गरका थिए ।

अमेरिकी वरिष्ठ सैन्य अधिकारीले अमेरिकी केन्द्रीय कमान्डले दिएको लक्ष्यलाई पूरा गरेको र कारबाही अत्यन्त सफल भएको बताए ।

आक्रमणको विषयमा रुसी अधिकारीलाई कुनै पूर्व जानकारी नदिएको पनि उनले थपे ।
यसअघि रुसी रक्षा मन्त्रालयले दमास्कसको डुमायर हवाई अड्डामा प्रहार गरिएका १२ वटा क्रुज क्षेप्यास्त्रलाई सिरियाको हवाइ प्रतिरक्षा प्रणालीले खसालेको जनाएको थियो । अमेरिका, बेलायत र फ्रान्सका लडाकू विमान, नौसैनिक जहाजले हवाई तथा स्थलबाट गरी १ सयभन्दा बढी क्रुज तथा आकाशबाट जमिनमा हिर्काउने क्षेप्यास्त्र सिरियामा प्रहार गरेको उक्त मन्त्रालयले जनाएको थियो । बेलायतस्थित निगरानी समूह सिरियन अब्जरभेटरी फर ≈युमन राइटसले सिरियाली सेनाको प्रतिरक्षा प्रणालीले अमेरिका र उसका सहयोगीका ६५ भन्दा धेरै क्षेप्यास्त्र रोकेको जनाएको छ ।
चीनद्वारा आलोचना

चीनले सिरियामा अमेरिकी नेतृत्वमा भएको हवाई तथा क्षेप्यास्त्र आक्रमणको कडा आलोचना गरेको छ । चीनले उक्त एकतर्फी सैन्य कारबाहीले सुरक्षा परिषद्को सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएको छ ।

चीन सरकारले एक विज्ञप्ति जारी गरी संदिग्ध रसायनिक हमलाको निष्पक्ष जाँचको माग पनि गरेको छ र सबै पक्षलाई संवादका लागि अपिल गरेको छ । रातारात गरिएको यस प्रकारको हमलाले सिरियाली मुद्दालाई थप जटिल बनाउने विज्ञप्तिमा उल्लखे गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्