पर्यटन प्रवद्र्धनमा जोड गरियोस्



नेपालको कुल ग्राहस्थ्य उत्पादनमध्ये कृषि, रेमिटान्सपछिको सबैभन्दा ठूलो हिस्सा ओगटेको आर्थिक क्षेत्र हो पर्यटन। प्राकृतिक विविधताले भरिपूर्ण मानिएको नेपालमा पर्यटनका हिसाबले प्रशस्त सम्भावना छन्। मानव निर्मितभन्दा धेरै प्रकृतिको उपहारका रूपमा रहेका नेपालका सम्भावनाहरूको खोजी र प्रचारप्रसार तथा संरक्षणको कुरा पछिल्लो समय जोडतोडका साथ उठ्ने गरेको छ। देश पुनःसंरचनामा गएपछि बनेका स्थानीय तहहरूमा पर्यटनको विकासको विषयमा राम्रै छलफल र बहसहरू चल्ने गरेका छन्। जसरी जनस्तरमा पर्यटनका सम्भाव्य क्षेत्रको विषयमा चर्चा चल्ने गरेको छ, त्यो हिसाबमा स्थानीय तहमा रहेका प्राकृतिक पर्यटनका सम्भाव्य क्षेत्रहरूमा सरकारको ध्यान नपुग्ने गरेको तथ्य हाम्रासामु छ।

बागलुङको सन्दर्भमा हेर्नुपर्दा यता प्राकृतिक सुन्दरतायुक्त गाजाको दह पर्यटकको पर्खाइमा छ। उता ढोरपाटनमा रहेको रुद्रताल त संरक्षण गर्नुपर्ने आवश्यकतासमेत छ। जैमिनी नगरपालिका–३ स्थित गाजाको तह र ढोरपाटन नगरपालिकामा पर्ने रुद्रताल जिल्लाको पर्यटकीय गन्तव्यमध्येका तालहरू हुन्। सदरमुकामदेखि दूरीका हिसाबले निकै टाढा रहेका यस्ता तालतलैयाहरूको उचित प्रचारप्रसार र संरक्षणको अभावमा पर्यटकका मनमोहक गन्तव्य बन्न सक्ने सम्भावना भएर पनि पछाडि परेको अवस्थामा छन्। निकै उचाइमा रहेका यस्ता तालहरू प्राकृतिक हिसाबले समेत निकै मनमोहक र रोचक सांकृतिक महत्त्व बोकेका छन्। ताल तथा दह नजिकैबाट देखिने हिमाली दृश्य, वसन्त याममा ढकमक्क फुल्ने गुराँसले आसपासको मानव बस्तीको रहन–सहन आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण विषय बन्न सक्छ। नयाँ बनेका स्थानीय तहहरू संरचनाका हिसाबले निकै चुनौतीपूर्ण अवस्थामा छन्। अर्कोतर्फ स्रोत र साधनको अभावका कारण स्थानीय तहहरूलाई सामान्य खर्चको जोहो गर्नसमेत हम्मेहम्मे अवस्था छ। सत्ता सञ्चालनका लागि आवश्यक हुने बजेटको व्यवस्थापन गर्न स्रोत परिचालन महत्त्वपूर्ण विषय हो।

उत्पादनका हिसाबले निकै कम उत्पादन हुने क्षेत्रमा रहेका स्थानीय तहहरूमा कुनै न कुनै प्राकृतिक स्रोत साधान छन्। अव स्थानीय तहहरूले आफ्नो स्थानीय सरकारको पहिचाहनको रूपमा यस्ता तालतलैया तथा प्राकृतिक तथा सांकृतिक महत्त्व बोकेका स्थानहरूको पहिचाहन गर्दै यस्ता स्थानहरूलाई पर्यटनको गन्तव्यको रूपमा विकास गर्नु र त्यसबाट आर्जन हुने राजस्व स्थानीय सरकारको स्रोतको रूपमा प्रयोग गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो।

सम्भावना भएका क्षेत्रहरू छन् भनेर मात्रै हुँदैन, आर्थिक गतिविधि सञ्चालन हुनका लागि पहिले कुनै न कुनैरूपमा लगानी गर्ने र पछि सोही लगानीको प्रतिफलबाट प्राप्त फाइदा लिने वातावरण मिलाउनुपर्छ। बिनालगानीको प्रतिफल र बिनाप्रयासको प्राप्तीको खोजीमा अब पनि स्थानीय तह बसिरहे भने त्यसको असर आर्थिक क्षेत्रमा पर्नेछ। स्थानीय तहले अधिकार पाएको समयमा त्यस्ता स्थानको संरक्षणमा ध्यान दिन जरुरी छ। स्रोत साधनको सदुपयोग गर्दै आर्थिक विकास गर्ने भन्नेमा सत्तासीन दल तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूले समयमा नै विचार गरौं। दिगो आर्थिक विकासका लागि पर्यटन क्षेत्रको पर्याप्त प्रयोग गरौं।

– दुर्गालाल महतो, बागलुङ

आगलागीबाट बचौं र अरूलाई पनि बचाऔं

अहिलेको समयमा पानी कम पर्ने र जमिन सुख्खा हुने भएकाले डढेलोको जोखिम निकै बढी हुने गर्दछ। मानवजीवनका हरेक क्रियाकलापमा प्रयोग हुने आगोका कारण गर्मीयाममा वन डढेलो तथा मानवीय बस्तीमा समेत आगलागीको त्रास बढी हुन्छ। विशेष गरेर चैत–वैशाखको समयमा आगलागी तथा वन डढेलोका घटना हुने गरेको विगतका तथ्यांकले देखाएका छन्। पछिल्लो समय शहरबजारको तुलनामा गाउँबस्ती आगलागीको उच्च जोखिममा छन्।
जंगलमा कुहिएर रहेका काठ तथा पातपतिङ्गर र सुकेका घाँसको उचित व्यवस्थापन हुन नसक्दा आगलागीको जोखिम बढ्दै गएको हो। हिउँदमा रुखबाट झरेका पातपतिङ्गर तथा सुकेका काठका कारण डढेलोको जोखिम बढेर गएको छ भने घर बस्तीनजिकै रहेका रुखका पात तथा सुकेका घाँसको व्यवस्थापन गर्न नसक्दा जंगलदेखि बस्तीसम्म आगो फैलिन सक्ने जोखिम पनि उत्तिकै छ। प्राकृतिक कारण र मानवसिर्जित कारणबाट वनमा आगलागी हुने गरेको छ। अत्यधिक गर्मीका कारण कहिलेकाहीं घना वन क्षेत्रमा अति प्रज्वलनशील पदार्थ आफैं आगोमा परिणत भएर आगो लागेका केही घटना छन् भने धेरैजसो मानवीय त्रुटीका कारण आगलागी हुने गरेका छन्। हामीले दैनिक जीवनमा प्रयोग गर्ने आगोलाई व्यवस्थापन गर्न नसक्दा ठूलो क्षति हुने गरी आगलागी हुने गरेका छन्।

चुरोट खाएर ठुटा जथाभावी फालिनु, केटाकेटीले भेट्ने ठाउँमा लाइटर, सलाई जस्ता आगोजन्य पदार्थ राखिनु र घर वा खेतबारीमा प्रयोग गरिएको आगो ननिभाइकन छोड्नाले आगलागीका घटना भएका छन्। देख्दा सानो देखिने गल्तीका कारण मानवजीवनले व्यहोर्नुपरेको ठूलो क्षतिका बारेमा हामीले हेक्का नराख्दा समय–समयमा ठूलै घटना पनि हुने गरेका छन्।

गर्मीयाममा हुने आगलागी तथा वन डढेलोको नियन्त्रणका लागि अरूको मुख ताक्नुभन्दा आगलागी हुनुपूर्व त्यसबाट बच्नका लागि आवश्यक पर्ने पूर्वतयारीका विषयमा जानकार हुनु उत्तम उपाय हो। आगलागीबाट बच्नका लागि आफ्नो टोल, समुदाय, समूह तथा विद्यालयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै पूर्वसावधानीका उपायहरू अवलम्बन गरौं। आगलागीको घटना मानव समुदायका लागि सबैभन्दा ठूलो विपत्ति हो। यसको समाधानका लागि आजैबाट टोल–टोलमा सचेतना फैलाऔं र आगलागीबाट हुने क्षतिबाट बचौं।
– आरके पहाडी, कैलाली

प्रतिक्रिया दिनुहोस्