टिम चौराह च्याम्पियन, सुनको जुत्ता ललितलाई



काठमाडौं, (नेस)
टिम चौराह धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करण पनि जितेर उपाधि रक्षा गरेको छ।

शुक्रबार भएको फाइनल खेलमा टिम चौराहले काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गरेर उपाधि हात पार्नुका साथै २५ लाख नगद पनि प्राप्त गर्यो। टिम चौराहले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ४ विकेटको नोक्सान बेहोर्दै १ सय ८१ रनको बलियो योगफल बनाएको थियो। टोलीका लागि सुनील धमलाले ७८ रन तथा प्लेयर अफ द फाइनल रोहन मुस्तफाले ६० रनको योगदान दिएका थिए।

जवाफमा १ सय ६० रनमै सीमित भएर हार बेहोरेपछि काठमाडौं गोल्डेन्सको हातमा १० लाख रुपियाँ परेको थियो। प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट बनेर रोहनले २ सय सीसीको बजाज मोटोरबाइक प्राप्त गरेका थिए। त्यस्तै चौराहकै बलर ललित भण्डारीले मोस्ट भ्यालुएबल प्लेयर घोषित हुँदै सुनको जुत्ता हासिल गरे।

यो सिजनदेखि जुत्ता कम्पनी गोल्डस्टारले मोस्ट भ्यालुएबल प्लेयरलाई सुनको जुत्ता उपलब्ध गराएको हो। यसै गरी तेस्रो र चौथो स्थानमा रहेका महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाले क्रमशः ३ लाख र २ लाख नगद हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्