रारा हिँडेका प्रधानमन्त्री बागलुङको ढोरपाटनमा



सिर्जना पन्त, बागलुङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ढोरपाटन शिकार आरक्षको अवलोकन गर्दै यस क्षेत्रबाट प्रर्यटन र विद्युत दुवै माध्यमबाट फाईदा लिन सकिने बताउँनुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार रारा प्रर्यटन महोत्सवको उद्घाटन गर्न जान लागेका प्रधानमन्त्री ओलीले ढोरपाटनको आकश्मीक भ्रमण गर्दै यस्तो बताउँनुभएको हो ।

प्रधानमन्त्री ओली रक्षामन्त्री ईश्वर पोख्रेल, पर्यटनमन्त्री रबिन्द्र अधिकारी लगायत मन्त्रीहरुको टोलीसंगै ढोरपाटन पुग्नुभएको थियो ।

प्रधानमन्त्रीलाई पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निशीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका जनप्रनिधिहरुले उत्तरगंगा हाईड्रो पावर परियोजना तत्काल सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।

स्थानीयले विद्युत आयोजना सञ्चालनका गर्दा आफुहरु विस्थापित नहुने गरी सञ्चालन गर्नुपर्ने र ढोरपाटन सिकार आरक्ष भित्र आफुहरुले गाई भैंसी चराउन पाउनुपर्ने माग गरेका छन् । आरक्षको अवलोकन पछि स्थानीय तहका जनप्रतिनि र स्थानीय जनतासंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ढोरपाटनलाई पनि जोगाउने गरी जलविद्युत निर्माण गर्ने बताउनुभएको छ ।

‘उत्तरगंगामा जलाशयबाट एक हजार मेगावाट विद्युत निकाल्न सकिन्छ भन्ने छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो त्यसो गर्दा यहाँको बस्ती र ढोरपाटनको सुन्दरता पनि नासिन सक्छ ।

ढोरपाटनको सुन्दरता पनि बचाउने र विद्युत पनि उत्पादन गर्ने गरी काम अगाडी बढाउनुपर्छ’ । जलासय युक्त उत्तरगंगा हाईड्रो पावर परियोजनाबाट चार÷पाँच सय मेगावाटसम्म विद्युत उत्पादन गरिने बताउनुभयो । पर्यटनमन्त्री रबिन्द्र अधिकारीले ढोरपाटन प्रदेश नम्बर ४ कै उत्कृष्ट पर्यटन गन्तव्य अन्तर्गत पर्ने बताउँनुभयो ।

तत्कालको लागि काठमाडौंबाट सम्भव भएपनि पोखराबाट ढोरपाटन पहिलो गन्तव्यको रुपमा राखेर यसको प्रचार प्रसार र विकास गर्नका लागि पहल गर्ने प्रर्यटनमन्त्री अधिकारीले बताउँनुभएको छ ।

मन्त्री अधिकारीले ढोरपाटनमा एयरपोर्ट सञ्चालनका लागि पहल गर्ने समेत बताउँनुभयो । रक्षामन्त्री ईश्वर पोख्रेलले स्थानीयसंग समन्वय गरेर नेपाली सेनाले आरक्षको रक्षा गर्ने बताउँनुभएको छ ।

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन हरेक वर्ष दुई सिजन सिकारका लागि खुला हुन्छ । यो वर्षको दोस्रो सिकार सिजन अहिले जारी रहेको छ । यो वर्ष २० नाउर र ११ झारलका लागि शिकार खुला गरिएको आरक्ष प्रमुख अणनाथ बरालले बताउँनुभयो । जारी दोस्रो सिजनमा सिजनमा १० नाउर र ६ वटा झारल सिकार गर्नका लागि ४ वटा कम्पनीका ११ जना विदेशी सिकारी अहिले ढोरपाटनमा छन् । आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्