प्लटिङ छल्न अंशवण्डा, पाँच बिगाहालाई एक सय ७ टुक्रा



नेपाल समाचारपत्र, हेटौंडा ।
केन्द्रीय सरकार र हेटौंडा उपमहानगरले जग्गा प्लटिङ गरेर बिक्री गर्न रोक लगाए पनि त्यो नियम छल्दै जग्गा प्लटिङ गरेर धमाधम बिक्री गर्न लागिएको छ ।

हेटौंडा–६, शान्तिटोलमा करिब पाँच बिगाहा जग्गा नियम छल्दै प्लटिङ गरेर बिक्री गर्न लागिएको हो । पहिले कृष्णहरि कालाखेतीको नाममा ल्याएर पछि परिवारका सदस्यलाई ‘अंशवण्डा’ का नाममा जग्गा टुक्रा पारिएको हो । कालाखेतीको नाममा रहेको शान्तिटोलको कित्ता नम्बर–१२०४, १३७५८, १३७५९ र ८८४३ नम्बर जग्गा कालाखेतीको नाममा ल्याएर बिक्री गर्न लागिएको हो ।

जग्गालाई एक सय ७ टुक्रा बनाइएर बिक्री गर्न लागिएको स्थानीयले बताएका छन् । उपमहानगरसँग प्लटिङका लागि स्वीकृतिबिना जग्गा प्लटिङ गरिएको कर्मचारी बताउँछन् । सीधै प्लटिङ रोकिएपछि हेटौंंडा–६ वडा कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालयका कर्मचारीसहितको मिलेमतोमा जग्गा प्लटिङ गरिएको हो ।

कालाखेतीले अंशवण्डा गर्दा वसन्त कालाखेती, विवेक कालाखेती, हरिमाया कालाखेतीको नाममा अंशवण्डा गरिएको छ । पाँच बिगाहा जग्गा अंशवण्डा गर्दा एक सय ७ वटा टुक्रा पारेर बिक्री गर्ने तयारी गरिएको स्थानीयको भनाइ छ । जग्गा प्लटिङ गर्दा बाटो राखिएको छ । तर, बाटो भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्