भारत भ्रमणपछिको चासो र चर्चा



रमेश भट्टराई “सहृदयी”

तीनदिने राजकीय भ्रमणबाट फिर्ता आएपश्चात् नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका स्वागतयोग्य कदमका बारेमा चर्चा चल्दै छन्। सामाजिक सञ्जाल नै चिसो सम्बन्ध सुधारका साथमा विकास र शान्तिको विषयले स्थान पाएको अभिलाषा व्यक्त गर्दै तातेको छ।

प्रधानमन्त्री ओलीले सम्बन्धको सुधार मात्रै होइन विकासमा सहकार्य गर्ने पक्ष तथा यथार्थतामा अडान लिनुभयो। नेपाली ध्वजावाहक पानीजहाजका कुरा, काठमाडौंसम्म जोड्ने गरी रेल्वे सेवा विस्तारका पक्ष अहिले सुने–बुझेसम्म खुशीका नवीन इतिहासका कुरा अवश्य भए। आशा गरौँ, नेपालका हितमा सम्झौता भएका छन्। सीमा विवाद सुल्झाउने विषयले मूर्तता पाए यो विषय पक्कै देशको हितार्थ र सराहनीय ऐतिहासिक कर्म बन्ने थियो।

हुन त सबै विषय आर्थिक मुद्दामै गएर ठोकिएका छन्। ऋण अनुदानका विषयसँग भारतले दोहोरो फाइदाका बारेमा चनाखो भएर नसोच्ने कुरा त नरहला। तैपनि कमसेकम साझेदारी सम्बन्धका बारेमा चर्चा चलेका खबर छन्। विगतमा पनि थुप्रै सम्झौता नभएका होइनन्। मूलतः सांस्कृतिक, आर्थिक तथा भारतीय कूटनीतिक सम्बन्धका पुरानै कुराका बारेमा चर्चा भएका कुरा छन्। सामान आयात–निर्यातका विषयसँग विकास र निकासको चर्चा चलेकै छ।

भ्रमणका विषयसँग अति सुन्दर विचार विमर्शका साथमा शान्ति र सहसम्बन्धको विषय जोडिएका छन्। त्यसको सीधा सम्बन्ध देश र कूटनीतिसँग हुन्छ। भारतले नेपाललाई ठूलो देश भएकैले यहाँ सहयोग नगरेको होइन। यद्यपि नेपालले सधैँ आर्थिक सम्पत्तिका विषयमा भिख मागिरहने होइन बरु कूटनीतिक आधारमा दुई देशको सहसम्बन्ध कायम राख्ने गरी विकासका लागि सहयोग हुनु राम्रो हो। भारत या अन्य देशसँग कुनै सुधार र संशोधनका विषय आउनुपर्छ भने तिनमा त परराष्ट्र नीति, वातावरणीय पक्ष, सीमा सुरक्षाका कुराले प्रश्रय पाएका पक्ष राम्रा कुरा हुन्।

सोचनीय पक्ष
यसअघिका घटनालाई हेर्दा भारत जानु भनेको आफ्नो कार्यकाललाई लम्ब्याइदेऊ भन्नेसम्मका विचार नआएका होइनन्। विगतमा भारत भूमिमा टेकिसक्दा नबुझेर पुस्तौँपुस्ताका लागि झापड पुग्ने खालका जाली सम्झौतामा हस्ताक्षर गरेर फर्केका पीडादायी इतिहास नभएका होइनन्। आत्मसम्मान र स्वाभिमानका कुरा बिर्सेर हामी फुरुक्कै पर्छौं। यसै कारण राजनीतिसँग मिसिएका कूटनीति अनि जटिलतासँग राष्ट्रियता र स्वाभिमानको रक्षाको पाटो पक्कै गम्भीर बन्छ। भारतले विकासमा आजसम्म जे–जति सहयोग गरिरहेको छ त्यो पक्षलाई नेपालजस्तो मुलुकले आभार प्रकट गर्नुपर्छ।

नेपाल विकासका अनकौँ सम्भाव्यतालाई छातीमा लुकाएर राखेको देश हो। त्यो सुन्दर पोकोलाई अब खोल्नै लाग्दा के गर्दै छस् भनेर सोध्ने मात्रै होइन धन्यवाद पनि दिन सक्छ। अलिकति मलाई पनि देन त भन्न सक्छ। होइन, बधाई छ भनेर चुपचाप बस्न सक्छ। तर असल छिमेकीले जे सहयोग गर्ने प्रतिबद्धता जनाएको कुरा छ, त्यो प्रशंसनीय छ। यद्यपि एउटा देशले आफ्नो भविष्यको आँकडा कोर्दै गर्दा शिशु अवस्थामा धेरै भन्दा धेरै पोषणतत्वको खानपानमै जोड दिनै पर्ला। यहाँ कान फुकेर माग राख्न लाउने या त जे भने पनि हजुर–हजुर भन्नुपर्ने कुरै छैन। प्रधानमन्त्रीको स्वागत गर्ने विषय असल छिमेकीसँग प्रगाढता पस्कनुभन्दा ठूलो अर्को पक्ष नरहला।

प्रधानमन्त्रीको भारत भ्रमणले सीमा नाकाका कुरामा सही निर्णय भएमा पक्कै भलाइ होला। यहाँको भूमि अतिक्रमणका विषय, सुस्तामा एकतर्फी बाँध बाँधेर सीमा मिचेका विषय, दशगजा सारिएका तीता पीडा, नयाँ पिलर रातारात बन्ने कुरा, भारतीय प्रहरीले नेपालीमाथि बारम्बार गरिरहने ज्यादती कुनै केटाकेटीको खेल होइन। भारतीय ज्यादतीका विषय जति त्रूmरतापूर्वक दिनहुँजसो घटिरहन्छन्, ती बाहिर आएका हुँदैनन्।

दिनहुँ सीमामा ठगिने नेपालीका पीडामा भारतले सम्बोधन गर्नुपर्छ। भारतीय प्रहरीले मागे जति घूस, मागेको पैसा नदिए जेलमा हालिदिने धम्की दिन्छन्। नराम्रोसँग तथानाम गाली गर्छन्। यी विषय स्वाभिमानमा आँच आउने विषय हुन्। व्यक्तिको मानवीय हकमाथिका प्रहार हुन्। अर्को पक्ष प्रवासी नेपालका अनेक थरी पीडा छन्। दुवैतिर नागरिकता दिने र दुवै देशमा नागरिकता नपाउनेका पीडाका कुरा, चेलीबेटी बेचबिखनका मुद्दा, मानवीय हक निमोठिएका तीता र पुराना विषय सबै दुवै देशका समस्या हुन्। सबैभन्दा ठूलो पीडा सीमाका पीडा, तटबन्धन आदिका कुरा छन्।

भारतका पनि समस्या
विश्लेषण गर्दा, भारत पनि विकसित मुलुक बन्न सकेको छैन। यहाँका युवा जसरी विदेशिन्छन्, त्यहाँ अभैm धेरैले विदेशिनुपरेको छ। असन्तुलित विकासको पीडा त्यहाँ पनि छ। चेतनाको अभाव र जमिनदारी पुँजीवादको अमिल्दो रूप त्यहाँ देखिन्छ। सुकुम्बासी, अशिक्षित, गरिबीको भयावह पीडा छन्। करिब ३० प्रतिशत जनताको आय १ डलरभन्दा कम छ। अन्धविश्वासका अति दर्दनाक अवस्थालाई हामीले टेलिभिजनमा हेरिरहेकै छौँ। जातीय दङ्गा र बेमेलको चर्को असमानता छ। यसरी मूल्याङ्कन गर्दा हामीले आपूmलाई कमजोर मात्रै हेर्ने आदतलाई पनि परिवर्तन गर्न जान्नै पर्ने रहेछ। यसर्थ अर्थतन्त्रभन्दा पनि विकासका बाटामा अवरोध नगर्नु ठूलो सहयोग बन्न पुग्छ। आर्थिक सहयोगभन्दा ठूलो सद्भाव बन्न पुग्छ। नेपालसँग सीधा सम्बन्ध जोडिएका विषयमा सहयोगभन्दा बढी सद्भाव र सहकार्यका लागि हात बढोस्। बुझ्नुपर्ने कुरा छ, औपनिवेशिक नेपालको नीतिमा भारतले विगतदेखि गर्दै आएका सम्झौता आज पनि नेपालका लागि भयङ्कर पीडा बनिरहेका छन्।

समदूरी सम्बन्ध
हामी विकासमा अलिकति पछि अवश्य छौँ। ठूलो देशको आडमा छौँ। त्यो भन्दा ठूलो कुरा भारतसँग खुला नाका छन्। व्यापारिक सहसम्बन्ध छ। धार्मिक तथा ऐतिहासिक सम्बन्ध दर्बिलो छ। हिजोको पुख्र्यौली भाइचारा कति सम्मानजनक छ। यस अर्थमा हामीसँग नेपाल र भारत सहसम्बन्धको विषय पक्कै पनि अटुट छ। उता चीन पनि हाम्रो बराबरी निकट सम्बन्ध भएको छिमेकी मुलुक हो। चीनमा हिमाली नाका छ। पर्यटकीय आधारलाई प्राकृतिक स्रोतको उपयोग र व्यापारिक सहसम्बन्ध राख्ने उत्तिकै मित्र राष्ट्र हो। कमसेकम हाम्रा लागि दुवै बराबर हुन्। इतिहास, व्यापारिकता, पर्यटकीय सहसम्बन्ध, सहयोग र विकासका कुरामा समानता छ। धेरै चिनियाँ संस्कृतिसँग नेपाली संस्कृतिको निकटता छ। भोट चिनियाँ वर्गका भाषा चीनसँग मिल्दाजुल्दा लाग्छन्। भारोपेली भाषा परिवारका धेरै भाषा भारतमा पनि बोलिन्छन्। यसर्थ हामी दह्रा छिमेकीका आडमा छौँ। सम्बन्धमा प्रगाढता राखेरै अघि बढ्नुपर्छ। हाम्रा इतिहासले हामीलाई झुक्न हैन प्रेम गर्न सिकाएका छन्। हाम्रा पुख्र्यौली इतिहासलाई देखाएर थोत्रो झोली अभैm कति थापिरहने ?

धेरै नेताजी भारतमा गएर सबैभन्दा पहिला फलानो पार्टीले गर्दा यस्तो भयो भन्दै आन्तरिक मामलालाई आपैmँ खोतल्ने गरेका इतिहास साक्षी छन्। अझ विपक्षीको विरोध गर्दै न्यायाधीश बन्नसमेत आग्रह गरेका लज्जास्पद र केटाकेटी प्रवृत्तिका व्यवहार नदेखाइएका होइनन्। जम्बो टोली लिएर भ्रमण गर्नेसम्मका कुरा छन्। यी विषय वास्तवमा मर्यादाका लागि पनि सोचनीय लाग्छन्। जे–जति विश्लेषण गरे पनि आत्मनिर्भरता नहुनु अनि आफ्नै घरभित्र किचलो गरिरहनुमा अरू कसैको पनि दोष छैन। नेपाल परिमाणका हिसाबले सानो होला तर विश्व मानचित्रमा केलाएर हेर्दा राष्ट्रियता, वीरता, बौद्धिकता वा भौगोलिक गरिमा कुनै चिजमा आपूm कमी छैन। नेपाल देश बुद्धको देश हो। बहुधार्मिक, बहुसांस्कृतिक अनेकता, बहुल कलागत पृष्ठभूमिलगायत प्रकृतिका अनन्य भण्डार यहाँ छन्। अनेकौँ खानीका सम्भाव्यतासँग यहाँ अब काम गर्ने जाँगर भएका युवाशक्ति त्यसै लालायित छन्।

पर्यटकीय सम्भाव्यताका अनेकौँ आधारहरू छन्। यसर्थ हामीलाई अब विकासका लागि सहयोगभन्दा बढी प्रभावकारी नीति र लगाव चाहिएको हो। नेपाल आमालाई गरिब मुलुकको दर्जामा राखिरहनुपरेको बाध्यतामा प्राकृतिक विपत्ति आएका हुन्। भूकम्पले ठूलो क्षति गरायो। बाढीका कारण धेरै क्षति भयो। यी विषय आपैmँमा गम्भीर छन् तर सीमा तटबन्धनमा दुवैतर्पmका लागि हितकारी सम्झौता लागू हुन सके अति सुन्दर हुने थियो। बर्सेनि डुबानमा परिरहने तराईका समस्या र पीडासँग दुवै देशका दुःख जोडिएका छन्। चीनसँग सम्बन्ध प्रगाढ होला कि भन्ने भयका कुरामा कूटनीति रचिनुहुन्न। हाम्रा लागि दुवै देश उत्तिकै प्यारा हुन्। हामी एककाँधे सम्बन्धमा रहेर र वैमनस्यतामा रहेर बाँच्नै सक्दैनौँ। अतः भारतसँग सामान आयात–निर्यात तथा बौद्धिक, भौतिक वा भावनात्मक सहयोगसँग निःस्वार्थता रहनुपर्छ। समभाव तर समदूरीको छिमेकी सम्बन्ध नेपालको आवश्यकता र वास्तविक आशा हो। यसर्थ प्रधानमन्त्रीले यी विषयमा सचेतनापूर्वक चाल्नुभएको कदम सराहनीय नै देखिन्छ।

प्रतिक्रिया दिनुहोस्