सांसद दम्पती पुत्री मिस नेपाल भएपछि हेटौंडामा खुसीयाली



हेटौंडा, (नेस)। हेटौंडाकी २२ वर्षीया शृंखला खतिवडाले मिस नेपाल वल्र्डको उपाधि जितेपछि उनको गृहनगर हेटौंडामा खुसीयाली छाएको छ।

बुधबार राति साढे १० बजे उनी मिस नेपाल घोषित भएपछि टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरिरहेका दर्शकले सडकमा निस्किएर खुसी व्यक्त गरेका थिए। मकवानपुरका एमाले सांसदद्वय विरोध खतिवडा र मुनु सिग्देल (प्रदेशसभा) की छोरी उनले मिस नेपाल बौद्धिक जगत्को प्रतिस्पर्धा गर्ने स्थल भएकाले मिस नेपालबाट आफू समाजमा रहेको कुरीति, विसंगति अन्त्य गर्ने अठोट लिएर प्रतियोगितामा भाग लिएको बताएकी थिइन्।

शृंखला, पुलचोक इन्जिनियरिङ कलेजबाट आर्किटेकमा कलेज टप गरेकी विद्यार्थी हुन्। उनले कलेजस्तरीय डिजाइनिङ प्रतिस्पर्धामा प्रथम स्थान तथा एसियन पेन्ट्सले आयोजना गरेको राष्ट्रिय डिजाइनिङ प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गरेकी थिइन्।

प्रतियोगितामा गोरखाकी २२ वर्षीया मनीता देवकोटा मिस नेपाल युनिभर्स, काठमाडौंकी २३ वर्षीया प्रिया सिग्देल सेकेन्ड रनर्सअप र काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्