शेयर कारोबारमा थप कडाइ



नेपाल समाचारपत्र
काठमाडौं
गैरकानुनी तरिकाबाट शेयर बजारमा हुने लगानीमा नेपाल धितोपत्र बोर्डले थप कडाइ गरेको छ। बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ पारित गरी वैशाख १ गतेदेखि लागू हुने निर्णय गरेकाले शेयर बजारमा हुने अवैध लगानीलाई कारबाही गरेको हो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम धितोपत्र व्यवसायमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने उद्देश्यले बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ लागू गरेकोे थियो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा संशोधन भएका व्यवस्थालाई समेटी बोर्डले उक्त निर्देशिकालाई प्रतिस्थापन गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ लागू गरेको हो।

नया निर्देशिकामा सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालन गर्दा कानुनको पालना र उच्च नैतिक मापदण्डको पालना र अनुशरण गर्नुपर्ने, सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापसम्बन्धी प्रचलित कानुनको कार्यान्वयन र त्यससम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातमा कानुन कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापविरुद्धका काम कारबाहीलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न प्रत्येक सूचक संस्थाले आफ्नो आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीको लागि तालिमको व्यवस्था गर्नुपर्ने, सूचक संस्थाले जोखिमको आधारमा आफूसग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचानसम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा कागजात रुजु गर्ने जिम्मेवारीसहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातको आधिकारिकता निजबाट रुजु गराई राख्नुपर्नेलगायतका व्यवस्था निर्देशिकामा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्