स्वदेशमा उत्पादित जडीबुटी प्रयोग गर्नुपर्नेः वनमन्त्री



काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्वदेशमा उत्पादित जडीबुटीलाई उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

वनस्पति विभागको ५८ औँ वार्षिकोत्सव तथा १९ औँ वनस्पति दिवसका अवसरमा बिहिबार आयोजित कार्यक्रममा उहाँले नेपाली वनस्पतिको संरक्षण संवद्र्धन गर्दै यसको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । “स्वदेशी वनस्पतिबाट धेरै किसिमका औषधि बन्ने र सोही औषधिले स्वास्थ्यलाई फाइदा हुने हुँदा यसको उपयोग बढाउनु आवश्यक छ,”– उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतले प्रकृतिले नेपाललाई अथाह वनस्पति दिएको बताउँदै उक्त वनस्पतिको संरक्षण र उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने गरी काम गर्नुपर्ने बताउनुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वनस्पति क्षेत्रको विकास र विस्तारमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वनस्पति संरक्षणमुखीमात्र नभएर उपयोगमुखीसमेत हुनुपर्ने उहाँको भनाइ थियो ।

विभागका महानिर्देशक सञ्जीवकुमार राईले विस २०५६ देखि वनस्पति दिवस मनाउँदै आएको बताउँदै यसको उचित संरक्षण र संवद्र्धनमा विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

विश्वमा झण्डै चार लाख ५० हजार र नेपालमा १२ हजार वनस्पति रहेको विभागले जनाएको छ । कार्यक्रममा वनस्पति क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएका प्राध्यापक डा रामप्रसाद चौधरीलाई राष्ट्रिय वनस्पति पुरस्कार प्रदान गरिएको थियो ।

त्रिभुवन विश्व विद्यालयका प्राडा चौधरीलाई रु एक लाख नगद र दोसल्लाद्वारा सम्मान गरिएको हो । सोही अवसरमा मन्त्री बस्नेतले विभागले तयार गरेको पुस्तक ‘इसेन्सियल वेल अफ नेपाल र जर्नल अफ प्लान्ट रिसोर्स’ विमोचन गर्नुका साथै जीवनका लागि वनस्पति लेखिएको लोगो अनावरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्