पानीका मुद्दाको सहज ढंगले समाधान गर्न सक्ने नै अबको सफल नेता



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालमा कस्तो व्यक्ति नेता हुन सक्छ र भैरहेको छ ? यो नेपालको राजनीति र आर्थिक —सामाजिक विकासमा चासो राख्ने सबैका लागि निकै जिज्ञासाको विषय रही आएको छ ।राजधानीमा भैरहेको एक अन्तराष्ट्रिय सम्मेलनमा यो विषयको जवाफ खोज्ने प्रयास भयो र जवाफ पनि सहज ढंगले निस्कियो । नेपालको सम्बन्धमा जसले स्थानीय देखि राष्ट्रिय तहका पानीका मुद्दाको सहज ढंगले समाधान गर्न सक्छ, त्यही व्यक्ति नेता बन्दछ ।

पानी वातावरण र जलवायु परिवर्तन: ज्ञानको आदानप्रदान र साझेदारी

”विषयक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ र नेपालका राजनीतिक पार्टीका प्रतिनिधिहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।गत मंंगलबारदेखि राजधानीमा आयोजित अन्तराष्ट्रिय सम्मेलनको तेस्रो तथा अन्तिम दिनमा आयोजकहरुले बडो रोचक शीर्षकमा प्यानेल डिस्कसन गराएका थिए ।

प्यानेलमा सहभागी हुनुहुन्थ्यो, लामो समयदेखि पानीको क्षेत्रमा कार्यरत राजनीतिकर्मी एवम् इञ्जिनियर तथा पूर्वमन्त्री गणेश शाह,पूर्व सचिव ई.शीतलबाबु रेग्मी, एमालेकी नेतृ तथा सांसद रामकुमारी झाक्री, पूर्व सचिव तथा विवेकशील साझा पार्टीका नेता ई.किशोर थापा, योजना आयोगका पूर्व सदस्य सुनिलबाबु श्रेष्ठ र नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्मा ।प्यानलिष्टमा रहेका पूर्व मन्त्री इं. गणेश साहल संसारका विभिन्न भागमा संकटको रुपमा देखा परेको स्वच्छ पानीको प्राप्यताका लागि काम गर्न सक्ने अर्थात पानीको समस्या समाधान गर्न सक्ने व्यक्ति नै नेताको रुपमा उदय हुने बताउनुभयो । उहाँले त्यस्तो व्यक्तिमा टीम बनाउने क्षमता,प्राविधिक र कानुनका विज्ञहरुलाई समेटन सक्ने र पानीको व्यवस्थापनका लागि जनशक्ति उत्पादन गर्ने क्षमता,पानीका सम्बन्धमा आवश्यक जानकारी सबैलाई दिन सक्ने र सर्वस्वीकार्य वा सहमतिको निर्णय गराउने क्षमता निहित हुनुका साथै सामाजिक वस्तुको रुपमा रहेको समान र न्यायोेचित वितरण गर्ने कला हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता पूर्व सचिव ई.शितलबाबु रेग्मीले पानीको प्रचूरता रहेपनि प्रति व्यक्ति उपलब्धताका हिसाबले अभाव नै झेलिरहेका नेपालीका लागि सिंचाई,खानेपानी र अन्य उपयोगमा पर्याप्त र आवश्यक मात्रामा पानी उपलब्ध गराउन सक्ने व्यक्ति नै पानीको क्षेत्रको मात्र नभई देशकै नेता हुने बताउनुभयो ।उहाँले पानीको समस्या समाधान भएपछि नै नेपालको समृद्धिको ढोका खुल्ने पनि बताउनुभयो ।

पूर्व सचिव रेग्मीले नेपालमा पानीको विषय सधै पेचिलो बन्ने गरेको र छिमेकी मित्रराष्ट्रसंग भएका सन्धी संझौताहरु सधै विवादमा पर्दै आएको पनि बताउनुभयो । उहाँले कोशी, गण्डकी र महाकाली जस्ता सन्धीहरु विवादमा परेको यथार्थ राख्दै मुलुक संघीयतामा भगैसकेको अवस्थामा केही पछि प्रदेशहरुका बीचमा पनि पानीले द्धन्द्ध निम्त्याउने खतरा रहेकोले जसले संभाव्य र हाल देखिएका समस्या समाधान गर्न सक्छ, त्यस्तो व्यक्ति नै नेताको रुपमा उदाउने बताउनुभयो ।नेकपा एमालेकी सांसद रामकमारी झाक्रीले पानी नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत भएकोले देशको समृद्धि र जनताको सुखका लागि यसको सदुपयोग हुनुपर्ने बताउनुभयो ।

उहाँले जनताको आवश्यकता अनुसार पानी उपलब्ध गराउने प्रविधिको उपयोग गर्ने र जनताका मागलाई संबोधन गर्न सक्ने प्राविधिकहरुको सहयोग प्राप्त सामाजिक नेता नै आउदा दिनमा नेताको रुपमा उदाउने र स्थापित हुने बताउनुभयो ।

कार्यक्रममा अर्का वक्ता विवेकशील साझा पार्टीका नेता इं किशोर थापाले नेपाली समाजलाई पानीका कारणले विभाजित हैन जोड्न सक्ने व्यक्ति नै भावि दिनमा नेताको रुपमा स्थापित हुने बताउनुभयो ।उहाँले पानी चल्ने र नचल्ने भनेर पानीका आधारमा भएको विभेद अन्त्य हुनुपर्ने विचार राख्दै जसले खानेपानीका लागि डोकोेमा ग्राग्री बोकेर ३ धण्टा पानीका लागि हिड्नुपर्ने अवस्थाका नेपालीको आँगनमा पानी पुर्याउछ, धाँजा फाट्ने खेत र बाँझा गराहरुमा सिंचाई सुविधा पुर्याउछ, र अध्यारोमा बसिरहेका नेपालीलाई जलविद्युतको उज्यालो दिन सक्छ, त्यही व्यक्ति वास्तविक रुपमा नेता हुने उल्लेख गर्नुभयो ।

उहाँले संघीयतामा उठन सकने पानीको मुद्दालाई संबोधन गर्न सक्ने,छिमेकी मित्र राष्ट्रहरुसंग डुवान, तटबन्धका विषयमा कुरा गरेर नेपालीलाई बाढी,पहिरो,डुबानबाट मुक्त गर्न सक्ने, पानी र युवा उमेर समूहका नेपालीहरुको व्यवस्थापन गर्न सक्ने व्यक्ति नै नेपालको नेताहुने विचार राख्दै आजसम्म त्यस्तो व्यक्ति नै नजन्मिएको बताउनुभयो ।

कार्यक्रममा योजना आयोगका पूर्व सदस्य सुनिलबाबु श्रेष्ठले स्मार्ट प्रविधिको उपयोग गरी पानीलाई व्यवस्थापन गर्न सकिने बताउनुभयो । उहाँले विश्वमा भएको नयाँ प्रविधिको आविश्कार,विकास र विस्तारबाट नेपालले पनि लाभ लिनसक्ने अवस्था रहेकोले नेतृत्व वर्गले योजनाविद्,प्राविधिक र वैज्ञानिकहरुसंग सहयोग लिने संस्कार विकास गरेमा त्यसले देशको विकास र जनताको सुख समृद्धिलाई सहयोग पुर्याउने बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले नेपालका हिमालयहरु यसको दक्षिण भेगमा बस्ने नेपाल र भारतका झण्डै एक अर्ब मानिसको जीवनको आधारको रुपमा रहेको पानीको स्रोत भएकोले यसको संरक्षणमा विवेक पुर्याउन सक्ने व्यक्ति नै नेपालको नेताको रुपमा उदाउने बताउनुभयो ।
उहाँले नेपालले पानीको समस्यालाई केलाउन थालेको उल्लेख गर्दै नेपालमा पानीको राष्ट्रिय उपयोगको बारेमा ध्यान पुर्याउने र देश र जनताको समृद्धिमा यसको उपयोग गर्ने विचार राख्ने कार्यको थालनी भएको पनि बताउनुभयो ।

उहाँले कार्बन उत्सर्जनमा कुनै भूमिका नै नभएको नेपालले विश्वका अधिक कार्बन उत्सर्जन गर्ने भारत(१५ प्रतिशत) , चीन( २५प्रतिशत) र अमेरिका(२१प्रतिशत) र युरोपेली मुलुकहरुको उत्सजर्नले निम्त्याएको ग्लोबल वार्मिड.का कारण पृथ्वीका तापक्रम बढेर हिउ पग्लने र पानीको स्रोत सुक्ने जस्ता दुष्प्रभाव भोग्न परेको उल्लेख गर्दै पानीको स्रोत संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।कार्यक्रमका अर्का वक्ता पूर्व मन्त्री जनार्दन शर्माले पानीको समुचित व्यवस्थापन गर्न सकेर बाढी,पहिरो, डुबान, खानेपानी तथा सिंचाईको अधाव सिजना हुन गएको तथ्य राख्दै यसको समुचित प्रयोग गर्न आवश्यक भएको बताउनुभयो ।

उहाँले आफू ऊर्जामन्त्री भएको बेलामा “नेपालको पानी जनताको लगानी“ नामक कार्यक्रममार्फत नेपालका जलविद्युत निर्माणको कार्यक्रमको थालनी गरेका बताउनुभयो । सो कार्यक्रममार्फत १० हजार मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाका लागि पनि नेपाली स्रोत जुटाउने प्रयास थालिएको बताउदै जलाशययुक्त विद्युत आयोजनाको निर्माणबाट पानीको दिगो संरक्षण र उपयोग हुने बताउनुभयो ।

उहाँले फोहर वा खेरगएको पानीको मात्र हैन,पर्याप्त विजुुली भएमा खोलाको पानी डाडामा पुर्याएर पहाडलाई हराभरा बनाउन सकिने , वसाई—सराई रोक्न सकिने भएकोले पानीको रिसाक्लिड.मा नर्या ढंगले सोच्न प्राविधिकहरुलाई अनुरोध गर्नुभयो ।उहाँले भन्नुभयो, “पानी हाम्रो राष्ट्रियता,स्वाधिनता,समृद्धि र समाजवाद सबैसंग जोडिएको छ । ”

प्रतिक्रिया दिनुहोस्