रोनाल्डोको पेनाल्टीले रियल मेड्रिड सेमिफाइनलमा



लन्डन, (एजेन्सी) ।
क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा पेनाल्टी गोल गरेपछि रियल मेड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । बुधबार राति च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा रियल मेड्रिडले युभेन्टससँग ३–१ को हार बावजुद अन्तिम चारमा स्थान बनाएको हो । यसअघि मेड्रिडमा भएको पहिलो लेगमा घरेलु टोली ३–० ले जितेको थियो ।

रोनाल्डोले ९७ औं मिनेटमा पाएको पेनाल्टी पोस्टको माथिल्लो कर्नरमा बल प्रहार गरेर गोल गरेका थिए । मेडी बेनासियाले लुकास भाजक्वेजलाई बक्समा लडाएपछि रियल मेड्रिडले पेनाल्टी हान्न पाएको थियो । ९३ औं मिनेटमा युभेन्टसका गोलकिपर गियानलुइगी बुफोनले इंग्लिस रेफ्री माइकल ओलीभरलाई पेनाल्टी दिएको भन्दै अपशब्द बोलेका थिए । उनलाई यसपछि रातो कार्ड दिएर मैदान बाहिर पठाएको थियो ।

बायर्न पनि अन्तिम चारमा

बुधबार राति नै भएको अर्को क्वाटरफाइनल दोस्रो लेग खेल बराबरी खेल्दै बायर्न म्युनिख सेमिफाइनलमा प्रवेश गरेको छ । ला लिगा क्लब सेभियालाई गोलरहित बराबरीमा रोकेसँगै बायर्न अन्तिम चारमा पुग्यो । यसअघि पहिलो लेगमा जर्मन क्लब २–१ ले जितेको थियो । बायर्नसँगै युएफा च्याम्पियन्स लिगमा रोमा, रियल मेड्रिड र लिभरपुल पुगेका छन् । शुक्रबार सेमिफाइनलको खेलतालिका सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्