दुवै छिमेकीसँग सन्तुलित सम्बन्धको खाँचो



डा. डीआर उपाध्याय

प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणले निकै चर्चा पायो। किनकि यस भ्रमणमा उठाउनुपर्ने केही विषयले प्राथमिकता पाएनन् भने केही विषयमा सहमति पनि भएको छ। समग्रमा हेर्दा प्रम ओली भारतसामु झुकेजस्तो लागेन। साथै यो भ्रमणका केही महत्वपूर्ण उपलब्धि छन्। कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सोल–काठमाडौं जोड्ने रेलमार्ग बनाउने, भारत र नेपालबीच नयाँ जलमार्ग विस्तार गर्नेजस्ता कुरामा सहमति भएको छ। त्यसकारण पनि यो भ्रमण सफल र सार्थक मान्नुपर्छ। सद्भाव र आपसी विश्वास बढाउने काममा समेत यो भ्रमण उपलब्धिमूलक रहेको छ। दक्षिण छिमेकीसँग विगतमा चिसिँदै गएको सम्बन्ध अब राम्रो हुने संकेत देखिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा तिनै तहका निर्वाचन सफल भएकोमा खुशी व्यक्त गरेका छन्। यसबाट पनि नेपाल–भारत सम्बन्धमा टेवा पुगेको बुझ्न सकिन्छ। नेपाल–भारतबीचको सम्बन्ध विशिष्ट खालको छ। यो सम्बन्ध बिगार्नुहुँदैन। सम्बन्धलाई अझ बलियो र कसिलो बनाउँदै जानुपर्छ। वर्तमान अवस्थामा हेर्दा ओलीको भारत भ्रमणले दुई देशबीचको आपसी सद्भाव बढाएको छ। भोलिका दिनमा नेपाल–भारतबीचको सम्बन्ध के–कसरी अघि बढ्छ ? त्यो भने हेर्दै जाऊँला, तर अहिलेलाई सतहीरूपमा देख्दा यो भ्रमण फलदायी भएको देखिन्छ।

हुन त भ्रमणमा प्राथमिकतामा नपरेका केही महत्वपूर्ण सवालहरू पनि छन्। पञ्चेश्वर महाकाली, पावर ट्रेड सम्झौता, भारतले एकतर्फी बनाएका बाँध (जसको कारणले बर्षेनि वर्षायाममा दुःख भोग्नुपरिरहेको छ), भारतीय नोटको सटही, हुलाकी राजमार्ग आदि वर्षौंदेखि अगाडि बढ्न नसकेका योजना छन्। यी विषयमा यस भ्रमणमा महत्वका साथ चर्चा चलेन। उठाउनुपर्ने मुद्दा यी थिए। तर ओलीले महत्व दिएनन्। अब वर्षाको समय आउन थाल्यो। बाँधको विषयमा कुरा उठाउनुपर्दथ्यो। भारतले लगाएको एकतर्फी बाँधले वर्षामा तराई मधेस डुबानमा पर्ने निश्चित छ। यो विषयमा किन भारतसँग कुरा उठाइएन ?

अहिले ओली सरकार इतिहासकै सबैभन्दा बलियो र शक्तिशाली सरकार हो। नेपालको शक्तिशाली प्रधानमन्त्रीको रूपमा ओली भारत भ्रमणमा गएका हुन। यो भन्दा पहिला सन २०१६ मा भारत भ्रमण गरेका थिए। त्यति खेरको भारत भ्रमण आलोचित र विवादित थियो। तर अहिले त्यति आलोचना खेप्नुपरेको देखिँदैन। यसपालिको भारत भ्रमण सार्थक र सफल भएको कुरा परराष्ट्र विज्ञहरूले पनि बताइसकेका छन्। हाम्रो देश विकास र समृद्धिको यात्रामा अघि बढ्न कोशिश गरिरहेको छ। भारत र चीनसँग सन्तुलित कूटनीतिक ढंगले दुवै छिमेकी देशहरूसँग हातेमालो गरेर नेपाल विकास र समृद्धिको बाटोमा छलाङ मार्ने कोशिश गरिरहेको छ। ओलीको भारत भ्रमणको उद्देश्य पनि यही हो। अब चीनको भ्रमणको तयारी हुन सक्छ। दुवै छिमेकी देशहरूसँग सहकार्य गरेर काम गर्ने नेपाल सरकारको उद्देश्य रहेको छ।

नेपाल–भारतको सम्बन्धमा चिसोपना आउनुमा नेपालको भन्दा पनि भारतको मुख्य हात छ। भारतले बारम्बार नेपालमाथि प्रभुत्व लाद्न खोजिरहन्छ। त्यसले पनि समस्या निम्त्याइरहेको छ। भारतले नेपालप्रति हेपाहा प्रवृत्ति नदेखाउने हो भने नेपाल–भारत सम्बन्ध बिग्रने थिएन। खास कारण भारतबाट नै नेपालमाथि थिचोमिचो हुँदै आएको छ। अब भारत सरकारले पनि नेपाललाई हेर्ने दृष्टिकोणमाथि पुनः विचार गर्नुपर्ने आवश्यकता देखिएको छ। नेपाल र भारतबीच खुला सिमाना छ। सीमा विवादले पनि बेला–बेलामा नेपाल–भारतबीच खटपट आउने गर्दछ। सीमाका विषयमा ओलीले खुलेर कुरा गर्नुपर्दथ्यो, गरेनन्। भारत र नेपालबीचको ठूलो समस्या भनेकै सीमा विवाद हो। भारतले एकतर्फीरूपमा नेपाली भूभाग मिच्दै आएको छ। यो राम्रो कुरा होइन। आफ्नो देशको रक्षाको लागि नेपाली बलिदान दिन तयार छन्। त्यसैले भारत सरकार नेपाललाई हेप्ने रणनीति नगरोस्।

विश्वमै दोस्रो शक्तिमा उदाएको चीन सरकार पनि सहयोग र लगानी नेपालमा भित्र्याउन उत्सुक देखिएको छ। चीन सरकारसँग नेपाल नजिक नहोस् भन्ने चाहना भारतको रहेको छ। नाकाबन्दीका बेला चीनसँग भएका सम्झौता कार्यान्वयन हुने देखेर भारत डराएको छ। यसपालिको भ्रमणमा ओलीलाई सम्मान गर्नुको कारण पनि यही हो। तर नेपाल सरकारले भारत र चीनलाई सन्तुलित हिसाबमा कूटनीतिक ढंगले ‘डिल’ गरेर जानुपर्छ अनि मात्र नेपालको भलो हुनेछ। अब नेपालमा विकास र समृद्धिको मूल फुटाउने काम गर्नुपर्छ। विकास र समृद्धि नै वर्तमान सरकारका मूल एजेन्डा हुनुपर्छ। चीन सरकारले नेपालसम्म रेलमार्ग जोड्ने प्रतिबद्धता गरिसकेको छ। सन् २०२० सम्म छिंहाई–तिब्बत रेलमार्गलाई नेपाल–चीन सीमाको केरुङसम्म ल्याउने चिनियाँ योजना छ। चीनले लुम्बिनी र पोखराको विकास गर्ने बाचा गरिसकेको छ। भारतको टाउको दुखाइको विषय नै यही हो।

नेपाल अझै पनि पेट्रोलियम पदार्थमा भारतप्रति धेरै मात्रामा निर्भर छ। नाकाबन्दीका कारण नेपालले धेरै सास्ती भोग्न बाध्य भएको थियो। अन्य कतिपय कुराहमा पनि नेपाल आत्मनिर्भर हुन सकिरहेको छैन। धेरै कुरामा आत्मनिर्भर हुने कोशिश नेपाल सरकारले गर्नुपर्छ। यतिखेर नेपाल सरकारलाई चीन सरकारको समेत साथ र सद्भाव छ। त्यसैले भारतको मात्र भर नपरी नेपाल सरकारले उत्तरी छिमेकी मुलुक चीनसँग पनि सम्बन्ध बढाउनुपर्छ। उत्तरी र दक्षिणी दुवै मुलुकसँगको सन्तुलित सम्बन्धले मात्रै नेपालको समृद्धिमा टेवा पुग्नेछ।

नेपालले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा चीन र भारत सरकारलाई लगानी गर्ने वातावरण निर्माण गर्न सक्यो भने विकास र समृद्धिको गोरेटो खनिनेछ। नेपाल र भारतको आर्थिक समृद्धिसित जोडिएका मुद्दा आउँदा दिनमा कसरी अगाडि बढ्नेछन्, त्यसले पनि सबै कुराको निर्धारण गर्नेछ। कुनै पनि देशको विकास र समृद्धि इच्छाशक्तिविना सम्भव छैन। राजनीतिक दल र तिनका नेताहरूमा इच्छाशक्ति भयो भने विकास र समृद्धि टाढाको कुरा होइन। हामी जलस्रोतका धनी छौं। जलस्रोतलाई सदुपयोग गरी ऊर्जा क्षेत्रलाई बढी मात्रमा ध्यान दिने हो भने विकासको गति अगाडि बढाउन सकिन्थ्यो। नेपालको बृहत्तर हित वा देशको समृद्धि जलस्रोतबाटै हुन सक्छ। यसका लागि नेपाल सरकार फराकिलो सोच र स्पस्ट दृष्टिकोणका साथ अगाडि बढ्नुपर्छ। ऊर्जा एवम् कृषि क्षेत्रमा लगानी गर्ने वातावरण सृजना गर्न सके छिमेकी मुलुकको समेत यसमा सहकार्य हुने देखिन्छ।

परम्परागतरूपमा भारतले नेपालका प्रधानमन्त्रीले पहिलो भ्रमण दिल्लीबाटै थालून् भन्ने चाहँदै आएको थियो। सोही अनुरूप भ्रमण पनि भारतबाटै शुरू भएको छ। यसमा भारत सरकार खुशी छ। ओली प्रधानमन्त्री नहुँदै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले गरेको नेपाल भ्रमणको खास उद्देश्य पनि अहिलेको गठबन्धन सरकारलाई चीनसँग नजिकिन नदिनु नै थियो। त्यसै बेला ओलीलाई बधाई दिने भन्दै पाकिस्तानी प्रधानमन्त्री अब्बासीले दुईदिने नेपाल भ्रमण गरे। भारत र पाकिस्तानबीचको तनाव पछिल्लो समय झन् थपिँदै गएको छ। जसले सार्कको भविष्यलाई नै अनिश्चिततातिर धकेलिदिएको छ। भारत र पाकिस्तानको राम्रो सम्बन्ध छैन। छिमेकी देशहरू मिलेर जानुपर्नेमा द्वन्द्व गरेर जाँदा राम्रो हुँदैन। आजको युग भनेको विकास र समृद्धिको युग हो। यसमा छिमेकी मुलुकको समेत साथ र सहयोग अवश्यम्भावी छ।

यतिखेर नेपाल गरिबी र बेरोजगारी समस्याले थिलथिलो छ। त्यसैले सरकारले कुरा मात्र होइन, काम गरेर देखाउनुपर्ने आवश्यकता छ। सरकार बनेको पनि दुई महिना बित्न थाल्यो, विकास र समृद्धिको कुनै सुरसार नै छैन। विगतको सरकारले जस्तै गफ मात्र गर्ने तर काम नगर्ने हो भने जनताले आउँदो चुनावमा वाम गठबन्धनलाई कहिल्यै उठ्न नसक्ने गरी हराइदिनेछन्। यो कुरामा प्रचण्ड र ओली सजग हुन जरुरी छ। खाली विदेश भ्रमण मात्रै गरेर सरकारले जनताको पक्षमा लोकप्रिय काम गर्न सकेन भने पछुताउनुपर्नेछ। छिमेकी देशको भ्रमण फलदायी हुनुपर्छ। विकास, समृद्धि र सुशासन वर्तमान सरकारका मुख्य मुद्दा हुन्। यी मुद्दामा केन्द्रित भएर सरकार अघि बढ्नुपर्छ। छिमेकी देशहरूसँग सहकार्य गरेर पाँच वर्षभित्र नेपाललाई विकास र समृद्धिको मार्गमा लैजानुपर्छ। अनि मात्र वर्तमान सरकारको सफलता र लोकप्रियता हुनेछ।

प्रतिक्रिया दिनुहोस्