“समृद्ध र नमुना वडा बनाउँछौं”



विष्णु धिताल “काभ्रेली”
वडा अध्यक्ष
धुलिखेल नगरपालिका–११, काभ्रे
स्थानीय तहमा जनप्रतिनिधिहरू आएको एक वर्ष पुग्न लागेको छ। २० वर्षसम्म स्थानीय निकायमा जनप्रतिनिधिविहीन हुँदा नागरिकले विकासको अपेक्षा गरे पनि पूरा हुन पाएन। जनप्रतिनिधि आएसँगै नागरिकमा नयाँ आशा जागेको छ। जनप्रतिनिधिलाई आफ्नो कार्यकालमा केही नमुना काम गरेर देखाउनुपर्ने चुनौती रहेको छ। नागरिकका चाहना असीमित रहेका छन्। सीमित स्रोत र साधनबाट जनप्रतिनिधिले काम गरेर देखाउनुपर्ने अवस्था छ।
चौतर्फी सम्भावना भएको साविको पातलेखेत गाविस–३ र हाल धुलिखेल नगरपालिका–११ का नागरिकले गाउँ–घरमै रोजगारी सिर्जना गरिदिनुपर्ने, समृद्धि वडा निर्माण गर्नुपर्ने जस्ता माग राखेका छन्। आफ्नै गाउँघरमा केही गर्ने अठोटको साथ कलिलै उमेरमा राजनीतिमा होमिएका विष्णु धिताल काभ्रेली आफ्नो कार्यकालमा वडालाई नमुना बनाउने अभियानमा जुट्नुभएको छ। प्रस्तुत छ, उहाँसँग नेपाल समाचारपत्रका लागि मोतीराम तिमल्सिनाले गरेको कुराकानीः
तपाईं निर्वाचित भएको एक वर्ष बित्न लाग्यो, यो अवधिमा के–के काम गर्नुभयो त ? 
बीस वर्ष लामो अवधिसम्म स्थानीय निकायमा जनप्रतिनिधिहरू नहुँदा जनताका असीमित आकांक्षा पूरा गर्नु कम्ती चुनौती थिएन। हामी निर्वाचित भएलगत्तै जनअपेक्षा पुनः चुलिएकै हुन्। त्यसलाई हामीले तीन वटा क्षेत्रबाट पूरा गर्ने योजना बनाएका छौं। पहिलो तत्काल गरिहाल्नुपर्ने काम, दोस्रो विस्तारै गर्दै जान सकिने योजना र तेस्रो दीर्घकालीन योजना।

धुलिखेल नगरपालिका–११ मा केही काम शुरू भइसकेको छ। आवश्यकताका आधारमा योजनाको वर्गीकरण गरिसकेका छौं। साविक पातलेखेत गाविसलाई समृद्ध बनाउने योजनाअन्तर्गत पातेलेखेत–ठूलीटार–तीनपिप्ले तथा  डाँडागाउँ–कल्छे–तीनपिप्ले सडकको डीपीआर तयार भएको छ। ५ वर्षभित्र सबै जनतामा खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ ७ वटा खानेपानी योजनाको डीपीआर तयार गरिसकिएको छ।
पातलेखेतको ढुंगानागाउँ मध्यपुर शान्तिपुर (जहाँ अहिले पनि खानेपानीको हाहाकार छ) मा १ करोड ९ लाख रुपियाँको योजना शुरू भएको छ। भूकम्पग्रस्त विद्यालय डाँफे प्राविलाई अस्ट्रेलियनको सहयोगमा पुनर्निर्माण गरिएको छ। जर्मन आर्किटेटको सहयोगमा पक्की भवन निर्माणको कार्य शुरू भएको छ। डाँडागाउँको कालीदेवी माविको भवन लवग्रिन नेपाल र धुलिखेल नगरपालिकाको सहयोगमा निर्माणको काम शुरू भएको छ।

ठूला व्यवसायीलाई आकर्षण गरी लगानीको वातावरण बनाउन, पर्यटनको प्रचुर सम्भावनालाई अझ फराकिलो बनाउने ठूल्ठूला होटल व्यवसायको स्थापनाका लागि पहल गरिरहेका छौं। किसानलाई सहयोग गर्ने, महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम शुरू भएको छ। सरकारले घोषणा गरेको आन्तरिक एयरपोर्ट निर्माणका लागि चिसापानी ठूलीचौरको प्रस्ताव अगाडि बढाएपछि हामी त्यो कार्यक्रम सफल बनाउन आवश्यक तयारीमा जुटेका छौं। वडामा रहेका प्रचुर  सम्भावनाको भण्डारलाई एकीकृत शहरी विकास योजना तर्जुमामार्फत सम्पन्न गराउने अभियानमा हामी सक्रिय भएका छौं। बालमैत्री स्थानीय शासनलाई कार्यान्वन, खुला दिसामुक्त वडा, वातावरणमैत्री वडा घोषणाको तयारीमा छौं।
स्थानीयस्तरमा हुने र विगतमा भएका साँध सीमाना, जग्गा किचलो जस्तो विषयमा समन्वय गरेर समाधानतर्फ लगिरहेका छौं। महिलाको आयस्तर वृद्धि गर्ने योजना महिला काउन्सिलमार्फत शुरू गरेका छौं। गरिबीको वास्तविक पहिचान गरी गरिबी न्यूनीकरणको अभियानमा छौं। स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउँदै लैजाने योजनामा अघि बढेका छांै।
महिलालाई रोजगार दिने र आत्मनिर्भर बनाउने योजना कस्तो बनाउनुभएको छ ?
राजनीतिक संक्रमणले मुलुक अस्तव्यस्त भयो। बजेट लक्षित वर्गमै विनियोजन भएको अवस्थामा पनि सीमित व्यक्तिमा मात्रै पुगेको थियो। अशिक्षित, बेरोजगार, गरिबीको पहिचान भएपछि त्यही क्षेत्रका लागि विनियोजन भएका कार्यक्रमहरू सञ्चालन गर्न सहज हुनेछ। हामीले अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छौं। हसेरा कृषि फार्ममा १० महिलाले रोजगार पाइरहेका छन्। महिनावारीका समयमा प्रयोग गर्ने घरेलु प्याड बनाउने तथा अन्य आयमूलक काममा सहभागी भएर महिला आत्मनिर्भर बन्नुभएको छ। होमस्टे सञ्चालन भएको छ। त्यसमा पनि महिलाले रोजगार प्राप्त गर्नुभएको छ। हामी स्थानीयस्तरमा भएका हरेक काममा साझेदारी र सहयोगी बन्ने प्रयास गरिरहेका छौं। महिलाले जुत्ता–चप्पल पसल मात्रै होइन, ठूला होटल व्यवसाय सञ्चालन गर्नुका साथै कृषिजन्य वस्तुको उत्पादन नै गरिरहनुभएको छ। मेडेफलगायतका संस्थाले उपलब्ध गराएको तालिमबाट महिला स्वरोजगारतर्फ लम्कनुभएको छ। यस्ता कार्यक्रममार्फत झण्डै वडामा सयभन्दा धेरै महिला रोजगार हुनुहुन्छ।
महिलालक्षित कार्यक्रम सबै महिलाको बीचमा पु¥याउने प्रयास गरेका छौं। महिला सशक्तीकरण कार्यक्रम सञ्चालन भइरहेका छन्। सशक्तीकरणका मुद्दासँगै महिलालाई विकास निर्माण र नेतृत्वमा पु¥याउने अभियान शुरू भएको छ। उपभोक्ता समितिमा महिलाले नै नेतृत्व गरेर निर्माणका कार्य भइरहेका छन्। योजना निर्माण, समृद्ध तथा कार्यान्वयन तहमा पनि महिलाको सहभागिता छ। सबै साझा अभियान लिएर वडा कार्यालयलाई समृद्ध र नमुना वडा बनाउने अभियानमा छौं।
राजनीतिमा महिलालाई क्रियाशील बनाइरहन थप कार्यक्रम आवश्यक छ कि छैन ? 
नेपाल सरकारले महिलाको समान सहभागिताका लागि आरक्षणको व्यवस्था गरेको छ। वडा तथा नगरपालिकाहरूमा निर्वाचित हुन महिलालाई जागिर छाडेर सहभागी गराएको अवस्था छ। जागिर छाडेर राजनीतिमा सहभागी भएका महिला जनप्रतिनिधिहरूलाई पारिश्रमिक छैन। बिनापारिश्रमिक काम गरिरहनुपर्दा घर–परिवार र सामाजिक काममै सक्रिय हुन कठिन छ। महिलालाई कुनै न कुनै प्रकारबाट स्थापित गराउनुपर्छ। नेतृत्वमा आएका महिलालाई टिकाइराख्न  राज्यले पनि विशेष कार्यक्रम र योजना बनाउन आवश्यक छ। आरक्षणबाट निर्वाचित महिलाका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्छ।
 राजनीतिमा महिला मात्रै होइन पुरुष पनि सहभागी हुन कठिन भएको अवस्था छ। क्षमता विकाससँगै खुला प्रतिस्पर्धामा आउन महिलाका लागि सहज छैन। तर, आर्थिकरूपले कमजोर बनेपछि त्यसको विकल्प विस्थापित नै हो। विस्थापित हुन नदिन केन्द्र, प्रदेश र स्थानीय सरकारले तत्काल सम्बोधन गर्नुपर्छ। नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि गराउँदै सक्रिय बनाउने र आर्थिकरूपले महिलालाई सशक्त बनाउन सकेको अवस्थामा अहिले निर्वाचित भएका महिलालाई राजनीतिमा टिकाइराख्न र नयाँ राजीतिमा आउन चाहने महिलाका लागि आकर्षण बन्न सक्छ।
हामीले महिला काउन्सिल बनाएका छौं। ५० लाख रकम विनियोजन भएको छ। यो कार्यक्रममार्फत महिलालाई समृद्ध बनाउनेछौं। आगामी ५ वर्ष नगरभित्रका सबै महिलालाई समृद्ध बनाउने योजनामा छौं। समृद्ध महिलाले मात्रै राजनीतिमा सक्रिय भएर सहभागिता जनाउन सक्छन् भन्ने हाम्रो बुझाइ छ।
यसबाहेक वडाका थप के–के योजना छन् ?

पाँचवर्षे एकीकृत शहरी योजनाको डीपीआर तयार भएको छ। कृषि, पर्यटक, औद्योगिक, पर्यटनका बारेमा योजना बनिसकेको छ। यसको कार्यान्वयनका लागि कार्यक्रम पनि शुरू भइसकेको छ। होमस्टेमार्फत रोजगार शुरू भएको छ। नमोबुद्ध जाने पर्यटकका लागि एक दिन पातलेखेतमा बस्ने वातावरण बनाउन योजना बनाएका छौं। थाइल्यान्डको सरकारमार्फत टावर निर्माण, बुद्धको सर्किट बनाउने तयारी भएको छ। दूध उत्पादनका लागि महŒवपूर्ण मानिएको पातलेखेतमा उद्योग स्थापना गर्ने, सिँचाइको व्यवस्था गरी व्यावसायिक तरकारी खेती शुरू गर्ने योजनामा छौं। स्टार होटलहरूसमेत धुलिखेलमा स्थापना हुने तयारीमा रहेको अवस्थामा साना–ठूला गरी झण्डै सयको हाराहारीमा रहेका होटलमा मात्रै हाम्रा उत्पादन खपत भए भने हामीलाई समृद्ध हुन समय लाग्ने छैन। हामी अब त्यसतर्फ उन्मुख भएका छौं।

तपाईंले भोगेका चुनौतीहरू के–के हुन् ?

राजनीतिक अवस्थाले केही चुनौती देखिएका छन्। संक्रमणकाल सकिएर जनप्रतिनिधि आइसकेपछि पनि हिजोकै दृष्टिकोणबाट हेर्ने र राजनीतिक पूर्वाग्रह राख्ने, राजनीतिक प्रतिपक्षको दृष्टिकोणबाट विकासलाई अवरोध गर्ने कुरा राम्रो होइन। स्थानीयस्तरको विकास निर्माणका काममा सबैको सहकार्य हुनुपर्छ र हामी विकासमा साझेदारी गरौं भनिरहेका छौं। कतिपय अवस्थामा विकास निमार्णकै काममा पनि स्थानीय उपभोक्ता समितिमा बस्नसमेत मान्दैनन्। विकास निर्माणको सबै काम गर्ने जिम्मेवारी वडा अध्यक्षको भन्ने बुझाइ छ। यो सोचलाई परिमार्जन गरी सबैको सहयोग पाउनु विकास निर्माणको क्षेत्रमा चुनौतीको विषय बनेको छ। म गाउँकै विकासका लागि राजनीतिमा होमिएको हो। त्यसैले सबैलाई आग्रह गर्छु राजनीतिक पूर्वाग्रहबाट नहेरी साझा कुरामा सहभागी बनौं। विभिन्न राष्ट्रहरू समृद्ध भइरहेका उदाहरण हेरौं। जनता एक भएर गरिएका विकास निर्माणबाट मुलुक समृद्ध हुन्छ। हामी समृद्ध हुन्छौं। जनताले खोजेको समृद्धिका लागि तपार्इं हाम्रो एकता र सहकार्य आवश्यक छ। यिनै कुरा बुझाउनु र व्यवहारमा उतार्नु मेरा लागि ठूलो चुनौतीको विषय बनेको छ।

बाँकी अवधिमा तपाईंले अघि सारेका योजना पूरा गर्न के गर्दै हुनुहुन्छ ?

म यही सुन्दर गाउँमा जन्में–हुर्कें। शिक्षादीक्षा पाए र यही गाउँलाई सुविधा सम्पन्न, उत्पादशील, विकसित गाउँ बनाउन चाहन्छु। समुन्त गाउँको परिकल्पना गरेको छु। यो पूरा गर्न शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय, कृषि, खानेपानी, सरसफाइ, एकल महिला तथा जेष्ठ नागरिकको सम्मान, महिला, बालबालिकाको सम्मान, गाउँमै स्वास्थ्य सेवा, गर्भवती महिलालाई स्वास्थ्य शिक्षा, पोषण, विद्यालयल तहको मात्र नभई कलेजस्तरको पढाइ गाउँमै हुनुपर्छ भन्ने अग्रजहरूको राय सुझावलाई समेत समेटेर अघि बढ्ने कार्यतालिका तय गरेको छ। यसका लागि सबै जनताको सहयोग र सद्भाव हिजो जसरी थियो भोलि पनि पाउँछु भन्ने विश्वास लिएको छु।

प्रतिक्रिया दिनुहोस्