केशबलाई सहकारी कप चेसको उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
गोल्डेनगेट कलेजका केशब श्रेष्ठले गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। सोमबार उपाधि जित्ने क्रममा केशबले स्वागतम् साकोसका क्षितिज भण्डारीलाई १.५–०.५ ले पराजित गरेका हुन्। सेतो गोटीबाट खेल्दै पहिलो खेलमा जित हात पारेका केशबले दोस्रोमा हात्ती गुमाएर खेललाई बराबरीतिर लगेपछि उनको उपाधि पक्का भएको थियो। उनले पहिलो पुरस्कार यामाहा मोटरसाइकल जितेका छन्। दोस्रो भएका क्षितिजले ५० हजार प्राप्त गरे।

त्यस्तै ब्लीट्ज टाइब्रेकरमा रूपेस जयसवाललाई हराउँदै श्रेयंकर साकोसका सुमित पन्त तेस्रो भए। सुमितले ३० हजार तथा चौथो भएका रूपेसले २५ हजार रुपियाँ पाए। ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने मूल नारासहित ६१औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको लिगतर्फ शीर्ष बरियताका खेलाडी ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका विवेक थिङ ७ अंकसहित पहिलो भए।

महिलातर्फ शान्ती धिमाल पहिलो, स्नेहा यादव दोस्रो, मार्सल तामाङ तेस्रो, सित्तलकुमारी चौथो र तेजेश्वनी तामाङ पाचौं भए। यसै गरी २००० भन्दा कम रेटिङ भएका खेलाडीमा हरिशचन्द्र चौलागाइँं र १८०० भन्दा कम रेटिङ भएका खेलाडीमा केशब मानन्धरले पुरस्कार पाए। अनरेटेडतर्फ मुक्तिनाथ सञ्जेल पहिलो तथा प्रमित अमात्य दोस्रो भए। यु–१९ तर्फ विराज पुडाशैनी तथा भेट्रनमा राजेन्द्र श्रेष्ठ पहिलो भए। समापनकै अवसरमा रुसमा चेस विषयमा अध्ययन गरिरहेका नेपाली खेलाडी विवेक थिङ र रूपेस जयसवाललाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्