नाइजेरियाली राष्ट्रपति बुहारीले पुनः चुनाव लड्ने



अबुजा, (एजेन्सी)
नाइजेरियाका राष्ट्रपति मुहमद बुहारीले आगामी वर्ष आयोजना हुने राष्ट्रपतिय चुनावमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न लागेको सोमबार उनको कार्यालयले जनाएको छ। महिनौंदेखि ७४ वर्षीय राजनेता बुहारीले पुन चुनाव लड्ने योजनाबारे विभिन्न अड्कलबाजी हुँदै आएको थियो। उनको पहिलो कार्यकालमा उनी अधिकांश समय बिरामी भएका थिए।

गत वर्ष उपचारका लागि उनी महिनौंसम्म बेलायतको एउटा अस्पतालमा रहेका थिए। बुहारीले सन् २०१५ को चुनावमा पूर्वराष्ट्रपति गुडलक जोनाथनलाई पराजित गरेका थिए। नाइजेरियामा सत्तारुढ राष्ट्रपतिलाई चुनावमा पराजित गर्ने उनी पहिलो विपक्षी नेता हुन्।
बुहारीले बेलायतको औपचारिक भ्रमण गर्न लागेको बेलामा उनको यो योजना सार्वजनिक भएको हो। आगामी १६ अप्रिलमा शुरू हुन गइरहेको कमनवेल्थका सरकार प्रमुखहरूको बैठकमा भाग लिने क्रममा बुहारीले बेलायतकी प्रधानमन्त्री टेरिजा मेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

उनी बिरामी बिदा लिएर गत वर्ष ३ महिना बेलायतमा बसेका थिए। नाइजेरिया फर्केपछि उनले आफू कहिल्यै पनि नराम्ररी थला नपरेको बताएका थिएन। तर उनले आफू कुन रोगबाट पीडित रहेको भने खुलासा गरेका थिएनन्। बुहारीले अल प्रोग्रेसिभ कंग्रेस पार्टीबाट चुनाव लड्न लागेका हुन्।

प्रमुख विपक्षी पार्टी पिपुल्स डेमोक्रेटिक पार्टीले अझैसम्म आफ्नो उम्मेदवार तय गरेको छैन। नाइजेरियाका पूर्वराष्ट्रपति ओलुसेगन ओवसान्जोले बुहारीलाई एउटा खुल्ला पत्र पठाउँदै नाजुक सवास्थ स्थिति र उमेरलाई मध्यनजर राख्दै चुनाव नलड्न आह्वान गरेका छन्। ओवसान्जोले उनको शासन कालमा नाइजेरियाको अर्थतन्त्र खस्केकोमा आफूलाई चित्त नबुझेको पनि सो पत्रमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्