५ सय जनाले हिमाल आरोहणको अनुमति लिए



नेपाल समाचारपत्र, काठमाडौं

यस वर्ष हिमाल आरोहणका निम्ति सोमबारसम्म ५८ वटा समूहले अनुमति लिएका छन्। सर्वाेच्च शिखर सगरमाथाको लागि २ नेपाली समूहसहित ३० समूहले अनुमति लिएका छन्।

हिमाल आरोहणका निम्ति सबै समूहमा गरी करिब ५ सय जना रहेको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका निर्देशक रामप्रसाद सापकोटाका अनुसार सगरमाथा आरोहणको लागि २ सय ५० जना आरोहीले अनुमति लिएका छन्।

आरोहीले सगरमाथा, लोत्से, धौलागिरि, मकालु, अन्नपूर्ण, धम्पुस कन्चनजंगा, अमादब्लम हिमालको लागि अनुमति पाएका हुन्। गत वर्षदेखि जीपिएस ट्रयाकिङ सिस्टमबाट हिमाल आरोहणको दृश्य कैद गर्ने भनिए पनि प्राविधिक तयारी नपुगेको भन्दै विभागले अझै शुरू गरेको छैन। विभागका महानिर्देशक दिनेश भट्टराईले भन्नुभयो–‘विभागले अध्ययन गरिरहेको छ, उपयुक्त कम्पनी भेटिएको छैन,’

गत वर्ष यी हिमाल आरोहणका लागि ८ सय ४० जनाले अनुमति लिएका थिए। यीमध्ये ६ जनाको आरोहणका क्रममा मृत्यु भएको थियो। जसमध्ये १ सय ९२ विदेशी र २ सय ५७ नेपालीसहित ४ सय ४९ जनाले सगरमाथाको आरोहण गरेका थिए। त्यस्तै लोत्से हिमालमा ५९ विदेशी र ३६ नेपाली गरी ९५ जनाले पाइला टेकेका थिए। धौलागिरीमा ३२ विदेशी र २७ नेपालीसहित ५९ जनाले आरोहण गरेका थिए।
यसैगरी १२ विदेशी र १४ नेपालीसहित ५९ जनाले मकालु हिमाल आरोहण गरेका थिए भने अन्नपूर्ण हिमाल ६ जानले आरोहण गरेका थिए।

सन् २०१७ मा १ सय १५ अमेरिकी, १ सय ९ जना भारतीय, ६१ जना बेलायती र चिनियाँ र अन्य मुलुकका नागरिकले अनुमति लिएका थिए। गत वर्षको पहिलो आरोहण जेठ १ गतेबाट शुरु भएको थियो भने सो दिन १४ जनाले सगरमाथा आरोहण गरेका थिए। यस वर्ष भने वैशाखभित्रै आरोहण हुने विभागले जनाएको छ।

विभागका अनुसार गत वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या हालसम्मकै बढी नेपाली मोहडाबाट ४१ वटा आरोहण दलका ३ सय ७५ जनाले सगरमाथाका लागि अनुमति लिएका थिए। सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ। त्यस्तै नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार रुपियाँ रोयल्टी तिर्नुपर्नेछ। सगरमाथा आरोहणका लागि बढीमा १५ जनाकोसमूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ।

सन् २०१७ मा ४३ वटा समूहका ३ सय ६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३ सय १८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए। सकारले आरोहीको अनुगमन गर्न ४ दर्जनभन्दा बढी अधिकारी खटाएको छ। जसका लागि मन्त्रालय र विभागबाट नासुदेखि उपसचिवसम्मका कर्मचारीलाई ७ दिनको तालिम दिएर खटाउने गरेको छ। पर्वतारोहण नियमावलीअनुसार ६ हजार ५ सय भन्दा बढीको उचाई भएको हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने व्यवस्था छ।

यसपटक हिमाल आरोहणका लागि क्यानडा, इटाली, पोल्यान्ड, चीन, भारत, जर्मनी, बेलायत, अस्टेलिया, अमेरिका र स्पेनलगायतका मुलुकका नागरिकले अनुमति लिएका छन्।

प्रतिक्रिया दिनुहोस्