सुनीलले पहिलेकै प्रदर्शन दोहोर्याए



नयाँ दिल्ली, (एजेन्सी)
गत सिजनमा चिन्नास्वामी स्टेडियममा भएको प्रदर्शन संजोगवश यस सिजनमा इडेन गार्डेन्स स्टेडियममा दोहोरियो। विरोधी टोलीहरू उही विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स थिए। विस्फोटक ब्याटिङ गर्ने सुनील नाराण थिए। पहिले पनि बैंगलोरका लागि घातक बनेका सुनीलले यसपटकको आईपीएलमा १७ बलमै अद्र्धसतक प्रहार गरेपछि कोलकाताले ४ विकेटले खेल जित्यो।

नयाँ कप्तान दिनेश कार्तिकले पछिल्ला कप्तान गौतम गम्भीरकै फर्मुला प्रयोग गरेका थिए। उनले सुनीललाई १ सय ७७ रनको लक्ष्य पार गराउन ओपनरमा पठाएका थिए। उनको यो फर्मुला सफल पनि भयो। सुनीलले १७ बलमै ५० रन जोडेर कोलकाताको जितको आधार बनाएका थिए। म्यान अफ द म्याच सुनीलको सानदार ब्याटिङमा ५ छक्का र ४ चौका सामेल थिए। छैटौ ओभरमा १९ बलमा ५० रन बनाएर उमेश यादवको बलमा बोल्ड भएपछि मात्रै उनको ब्याट ठमेको थियो। त्यतिन्जेल उनले कोलकातालाई बलियो आधार दिइसकेका थिए।

२९ वर्षीय वेस्टइन्डिजका क्रिकेटरले पछिल्लो सिजनमा पनि बैंगलोरविरुद्ध उनकै मैदानमा १५ बलमा ५० रन जोडेर युसुफ पठानको कीर्तिमानसँग बराबरी गरेका थिए। सो खेलमा उनले १७ बलमा ५४ रन बनाएका थिए। तर यो कीर्तिमानलाई पञ्जाबका ओपनर लोकेश राहुलले आइतबार नै दिल्लीविरुद्धको खेलमा तोडेका थिए। राहुलले १४ बलमा छिटो ५० रन बनाउने आईपीएलमा कीर्तिमान राखेका छन्।

१ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य कोलकाताले ६ विकेट गुमाएर ७ बल बाँकी राखी हासिल गरेको थियो। कप्तानी इनिङ खेल्दै दिनेश कार्तिक ३५ रनमा नटआउट रहेर जित दिलाएका थिए। त्यस्तै नितिश राणाले ३४ रन जोडेका थिए। उनीहरूबीच चौथो विकेटका लागि ५५ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। नितीसले बलिङमा पनि लगातार २ बलमा विराट कोहली र एबी डिविलियर्सको महत्त्वपूर्ण विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्