थ्रीस्टारले उपाधि संख्या ५ पुर्यायो



सरोज यादव, विराटनगर

विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लब ललितपुरले जितेको छ।

विराटनगरमा सोमबार राति सम्पन्न खेलमा चिरप्रतिद्वन्द्वी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले स्तब्ध पार्दे उपाधि जितेको हो। निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफसम्म गोलरहित बराबरी रहे पनि ५४औं मिनेटमा थ्रीस्टारका अन्नत तामाङले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

त्यस्तै ७२औ मिनेटमा विदेशी खेलाडी मार्टिनलाई डी एरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा थ्रीस्टारका स्टार खेलाडी विमल घर्तीमगरले गोल गरेर जित सुनिश्चित गरेका थिए। आक्रामक रूपमा प्रस्तुत भएको आर्मीका केही प्रहार थ्रीस्टारका गोलकिपरले विफल बनाएका थिए। ८५औं मिनेटमा विमलले पुन एक गोल थप गर्दे टोलीलाई ३–० को सानदार जित दिलाए।

निरन्तरताको ३२औं र विराट गोल्डकप नामाकरण भएपछिको पाँचौ संस्करणको उपाधि थ्रीस्टारले रक्षा गरेको हो। जितसँगै थ्रीस्टारले यस सिजनमा उपाधि संख्या ५ पुर्याएको छ।

यो सिजनमा यी २ टोलीबीच चौथो पटक भेट हो। दुबै टोलीले २⁄२ खेल जितेका थिए। हार बाबजुद यो सिजनमा ११ वटा प्रतियोगितामा सहभागी भएकोमा ७ वटाको उपाधि कब्जा गरेको आर्मी सिजनकै सर्वाधिक उपाधि जित्ने टोली बनेको छ।
विजेता टोली थ्रीस्टारले उपाधिसँगै १२ लाख ७१ हजार हात पारेको छ। यस्तै उपविजेता आर्मीले ५ लाख ५१ हजार रुपियाँ नगद हासिल गर्यो। यस्तै म्यान अफ दी टुर्नामेन्टलाई मोटरसाइकल प्रदान गरिएको छ। यस्तै उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिममध्येका उत्कृष्ट सबैलाई २५,२५ हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्