राहुलको कीर्तिमानसँगै पञ्जाबको जित



नयाँदिल्ली, (एजेन्सी)

लोकेश राहुलको कीर्तिमानी ब्याटिङसँगै आईपीएलको ११औं संस्करणमा किंग्स इलेभेन पञ्जाबले जितबाट शुरुआत गरेको छ।

आइतबार चण्डीगढमा भएको खेलमा पञ्जाबले दिल्ली डेयरडेविल्सलाई ६ विकेटले हराएको हो। दिल्ली डेयरडेविल्सले दिएको १ सय ६७ रनको लक्ष्य पञ्जाबले ६ विकेट गुमाएर ८ बल बाँकी राखेर हासिल गरेको थियो। ओपनर राहुलले शुरूमै विस्फोटक ब्याटिङ गरेपछि नै पञ्जाब जितको आधार बनेको थियो। उनले १४ बलमा अर्धशतक बनाएर आईपीएलमा छिटो ५० रन बनाउने कीर्तिमान रचेका थिए।

राहुल ट्रेन्ट बोल्टको बलमा आउट भएपछि उनको सानदार ब्याटिङमा पूर्णविराम लागेको थियो। उनी आउट हुँदा टोली ६४ रनमा थियो भने उनको योगदान ५१ रन थियो। राहुलले त्यति नै रनमा आउट हुनुअघि ६ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै उनकै सहयोगले टोलीले २ दशमलव ५ ओभरमै ५० रन पूरा गरेर आईपीएलमा अर्को कीर्तिमान बनाएको थियो।

यसअघि २०१४ मा भएको आईपीएलमा युसुफ पठानले सनराइजर्स हैदरावादविरुद्ध १५ बलमा अर्धशतक पूरा गरेको कीर्तिमान बनाएका थिए। पठानले कोलकाता नाइट राइडर्सबाट खेलेका थिए। यसपछिका आईपीएलमा सुनील नारानले १५ बलमा र सुरेश रैनाले १६ बलमा अर्धशतक प्रहार गरेका थिए।

यसअघि दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो। जसमा कप्तान गौतम गम्भीरले ५५ रनको योगदान दिए। २००८ पछि पुनः दिल्लीको टोलीमा फर्केका गम्भीरले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै रिषभ पन्तले ४ चौका र १ छक्कासहित २८ रन बनाए भने क्रिस मोरिस २७ रनमा नटआउट रहेका थिए। पञ्जाबको तर्फबाट मोहित शर्मा र मुजीब अर रहमानले २⁄२ विकेट लिएका थिए।

सन्दीप प्लेइङ ११ मा परेनन्
इन्डियन प्रिमियर लिग (आईपीएल)मा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीप लामिछानेले पहिलो खेलमा खेल्न पाएनन्। आइतबार दिल्ली डेयरडेविल्सले किंग्स ११ पञ्जाबविरुद्ध खेल्दा सन्दीप प्लेइङ ११ मा पर्न सकेनन्। दिल्ली डेयरडेविल्ससँग उनी २० लाख भारुमा आबद्ध भएका हुन्। आइतबारको खेलमा दिल्ली चार फास्ट बलर क्रिस मोरिस, डेनियल क्रिस्टियन, मोहम्मद सामी र ट्रेन्ट बोल्टका साथ मैदानमा उत्रेको थियो। लेग ब्रेकका दुई बलर अमित मिश्रा र टेवाटिया पनि टोलीमा सम्मिलित थिए।

दिल्लीले अनुभवी अमित मिश्रालाई सन्दीपको साटो स्थान दिएको थियो। दिल्लीका अस्ट्रेलियन प्रशिक्षक रिकी पोन्टिङ उनको प्रशिक्षण देखेर दंग भएको भारतीय सञ्चार माध्यमले जनाएको थियो। तर उनले टोलीमा मौका पाउन संघर्ष गर्नुपर्ने पोन्टिङले आफ्नो विचार राखेका थिए।
ब्राभोको ब्याटिङमा चेन्नईको जित ,शनिबार ड्वेन ब्राभोको एकल प्रयासमा हारिसकेको खेल सुपर किंग्स चेन्नईले जितेको थियो। चेन्नईले १ सय ६६ रनको लक्ष्य पछ्याउँदा १७ ओभरसम्म हारतिर नै उन्मुख थियो। यतिबेलासम्म चेन्नई ११९⁄८ को स्थितिमा हुँदा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सका खेलाडीमा मुस्कान बनिसकेको थियो। अन्तिम तीन ओभर (१८ बल) मा चेन्नईले ४७ रन बनाउनुपर्ने थियो। मुम्बईका लागि जित्न २ विकेट लिए पुग्ने थियो। तर उक्त उद्घाटन खेलमा वेस्ट इन्डिजका ब्याटसम्यान ब्राभो विस्फोटक बनेपछि चेन्नईले मुम्बईलाई १ बल बाँकी राखेर १ विकेटले हराएको थियो। रोमाञ्चक खेलका नायक घोषित ब्राभोले ३० बलमा ६८ रन बनाएका थिए। पहिलो ११ बलमा २० रन जोडेका ब्राभोले अर्को १९ बलमा ४८ रन थपेका थिए। उनले ७ छक्का र ३ चौका प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्