खानेपानी, वातावरण र जलवायुसम्बन्धी विश्व सम्मेलन हुँदै



नेपाल समाचारपत्र
काठमाडौं
विश्वव्यापी रूपमा रहेको जलवायु परिवर्तनको मुद्दा र यसले निम्ताएका समस्याका विषयमा मंगलबारदेखि काठमाडौंमा ‘खानेपानी, वातावरण र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ।

सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) को आयोजना, खानेपानी मन्त्रालयको संरक्षकत्व तथा वन तथा वातावरण मन्त्रालय र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहआयोजना सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुहुनेछ। सम्मेलनको अघिल्लो दिन अर्थात सोमबार ‘नेपालमा फोहर पानी प्रशोधनको विकेन्द्रीत मार्गचित्रः दक्षिण एसियाली अनुभवबाट सिकाई’ नामक गोष्ठी आयोजना गरिने आयोजक संस्था सोफेनले जनाएको छ।

सम्मेलनमार्फत् स्वच्छ पानीको स्रोतलाई जोगाउने, पानीको अभाव हुन नदिने, पानीलाई मानव समाजको समुन्नतिमा उपयोग गर्ने, पानीका माध्यमबाट वातावरण संरक्षणमा योगदान पुर्याउने र जलवायु परिवर्तनका असरबाट जोगिन अपनाउनुपर्ने सुरक्षाका विषयमा बृहत् छलफल हुनेछ। तीन दिवसीय सम्मेलनमा खानेपानी, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि गरी २० राष्ट्रका करिब ५ सय जना विज्ञहरूको सहभागिता रहनेछ।

यस सम्मेलनमार्फत् हासिल सिकाइको उपयोग गरी राज्यद्वारा अबका दिनमा अबलम्बन गरिने नीति, योजना, कार्याविधि, लगानी, प्रविधि र क्रियाकलापलाई अझ बढी पानी, वातावरण र जलवायु परिवर्तनमैत्री कसरी बनाउन सकिन्छ भन्ने कुराको मार्गचित्र देखाइनेछ। त्यसैगरी संघीय संरचनामा दिगो रूपमा खानेपानी, सरसफाई र स्वच्छताका सुविधा विस्तार गर्ने कार्यमा नवीनता र सिर्जनशीलता ल्याउन सकिनेछ आयोजकले जनाएका छन्। समग्रमा जलवायु परिवर्तनका नकारात्मक असरहरूलाई न्यूनीकरण गरी जल र वातावरणीय सन्तुलन कायम गर्दै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तहको सुदृढ लगानी र साझेदारीमार्फत् दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा यस सम्मेलनले मार्गदर्शन गर्नेछ।
विश्वव्यापी तापक्रम वृद्धिले जलवायुमा परिवर्तन भईरहेको छ। यसको असरबाट बढी प्रभावित हुने मुलुकमा नेपाल पनि पर्दछ। पृथ्वीको तापक्रममा भएको वृद्धिले हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढेको छ। जलवायु परिवर्तनका कारण हिउँले ढाकिएका कतिपय उच्च पर्वतहरू हिउँरहित भएका छन् भने पहाडमा पानीको मूल सुक्दै गएका छन्। अतिवृष्टि,अनाबृष्टि, खण्डबृष्टि जस्ता घटना बढेसँगै बाढी पहिरो र प्राकृतिक प्रकोप बढेको छ। बढ्दो जनसंख्याका कारण भइरहेको वन जंगल विनास र औद्योगिकरणको प्रभावले वायु मण्डलमा थपिँदै गएको कार्बनमोनो अक्साइड, कार्वनडाईअक्साइड र हरितगृह ग्यासको प्रभावले पृथ्वीको वायुमण्डलभित्रको तापक्रम बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्