महिला भलिबललाई केएनपी जापानको साथ



काठमाडौं, (नेस)
केएनपी जापन प्रालीले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ। आइतबार आयोजित एक कार्यक्रममा शेरबहादुर स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी जापान प्रालिका नेपाल प्रमुख मनोजकुमार मिश्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आगामी वैशाख २१ देखि २५ गतेसम्म आयोजना हुने राष्ट्रिय महिला भलिबलका लागि केएनपीले रमक वृद्धि गरी प्रतिष्ठानलाई ६ लाखको प्रयोजन सम्झौता गरेको छ। सम्झौताअनुसार प्रतियोगिता केएनपी जापान चौथो राष्ट्रिय महिला भलिबलको नामले सञ्चालन हुनेछ।

तेस्रो संस्करणमा ५ लाखको प्रायोजन गरेको केएनपी जापान प्रालिले निरन्तरता दिँदै १ लाख वृद्धि गरेको हो। मुख्य प्रायोजक केएनपी जापानले मञ्च व्यवस्थापन, गेट, तुल ब्यानरमा अतिरित्त खर्च गर्नेछ। कार्यक्रममा केएनपी जापान प्रालिका नेपाल प्रमुख मिश्रले नेपालको राष्ट्रिय खेलको विकास र विस्तारमा संस्था जोडिन पाएकोमा गौरवान्ति भएको धारणा व्यक्त गरे। सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष यमबहादुर गुरुङ, महासचिव जितेन्द्रबहादुर चन्द, शिवम् सिमेन्टका बजार प्रमुख केशव अर्याल, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्कालगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। तीन विभागीय टोलीसँगै न्यु डायमन्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्