फाइनलअघि नै ३० लाखको टिकट बिक्री



सरोज यादव, विराटनगर

विराटनगरमा जारी विराट गोल्डकपमा टिकट बिक्रीबाट ३० लाख रुपियाँ संकलन गर्ने लक्ष्य फाइनल प्रतिस्पर्धा बाँकी रहँदै पूरा भएको छ।
दैनिक टिकट बिक्रीबाट तीनदेखि ५ लाख रुपियाँसम्म संकलन हुँदै आएको गोल्डकप आयोजक समितिका अध्यक्ष नवीन रिजालले जानकारी दिनुभयो। विराटनगरको शहीद रंगशालामा ७ हजार दर्शक अट्ने प्याराफिट रहेको छ। रिजालका अनुसार विगतका शुरुआतमा दर्शक नहुने भए पनि फाइनल प्रतिस्पर्धामा भने दर्शकले प्यारापिट खचाखच भरिने गरेका थिए।

यस वर्ष पनि फाइनलमा दर्शक उपस्थिति विगतभन्दा बढी हुने अपेक्षा आयोजकले गरेको छ। प्रतिस्पर्धा दैनिक साँझ ६ बजेपछि हुँदै आएको छ। साँझको समय भएकाले पनि दर्शक उपस्थिति बाक्लो भएको आयोजकको भनाइ छ। दिवाकालीन रूपमा मात्रै प्रतियोगिता आयोजना गर्दा दर्शकको साथ त्यति नपाइएको विगत सम्झँदै रिजालले ठूलो धनराशि खर्च गर्दै दर्शक आकर्षित गर्न रात्रिकालीन समयमा प्रतियोगिता आयोजना गरिएको बताए।

‘विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत सबै पेसाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस् र प्रतियोगिता रोमाञ्चक बनोस् भनेर डे–नाइट खेल आयोजनाको गरिएको हो। दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबलप्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने, स्थानीयलाई विदेशी खेलाडीसँग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यावसायिक रूप प्रदान गर्ने र विराटनगरलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने प्रतियोगिताको मुख्य उद्देश्य छ।

फाइनल खेलका लागि भने आयोजकले टिकटको मूल्य ३ सय र ४ सय रुपियाँ तोकेको छ। प्रतियोगितामा आयोजकले दैनिक टिकटका अलवा १ हजार ५ सय रुपियाँको सिजनल टिकटको समेत व्यवस्था गरेको थियो। प्रतिक्षित विराट गोल्डकप दिवा र रात्रिकालीन (डे–नाइट) प्रतियोगितामा दर्शकको उपस्थिति र आकर्षण बढेको छ। चैत १७ गतेदेखि जारी प्रतियोगिताका लागि ३५ लाख रुपियाँ खर्च गरेर ४५ हजार वाटको फ्लडलाइट जडान गरिएको छ। आगामी दिनमा लाइटलाई थप सुधार गर्दै लैजाने योजना रहेको आयोजकले जनाएको छ। गोल्डकपको फाइनल प्रतिस्पर्धा सोमबार हुँदै छ।

प्रतिक्रिया दिनुहोस्