गगनचुम्बी ‘ट्रम्प टावर’मा आगलागी



न्युयोर्क, (एजेन्सी)
न्युयोर्कस्थित ट्रम्प टावर आगलागीमा एक जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपतिको न्युयोर्कस्थित निजी गगनचुम्बी भवन ट्रम्प टावरमा शनिबार साँझ आगलागी भएको हो।

आगो निभाउने क्रममा न्युयोर्क फायर डिपार्टमेन्टका ६ अग्नीसमनकर्ता घाइते भएको एफडीएनवाई अधिकारीहरूले जानकारी दिएका छन्।
आगो भवनको ५०औं तलाबाट शुरू भएको अग्नीसमन विभागका अधिकारीहरूले एनबीसी न्युयोर्कलाई बताएका थिए। ट्रम्प अर्गनाइजेसनका कार्यकारी उपप्रमुख एरिक ट्रम्पे ट्विटमा आगो एउटा ‘आवासीय अपार्टमेन्टमा’ लागेको उल्लेख गरेका छन्।

उक्त भवनमा अमेरिकी राष्ट्रपतिको घर र कार्यालय पनि रहेको छ। तर उनी अहिले वासिङ्टनस्थित राष्ट्रपति भवन ह्वाइट हाउसमा बस्छन्।
राष्ट्रपति ट्रम्पले आगलागीको जानकारी दिँदै ट्विटमा आगो सीमित ठाउँमा लागेको र टावर ‘अत्यन्त राम्रोसँग बनाएको भवन’ भएको उल्लेख गरेका छन्। उनले दमकलका कर्मचारीले अत्यन्त राम्रो काम गरेको उल्लेख गरेका छन्।

ट्रम्प टावरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार समूह ट्रम्प अर्गनाइजेसको मुख्यालय पनि रहेको छ।आगलागीपछि भवनको आसपासका सडकहरूमा यातायात बन्द गरिएको थियो।

डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पकी प्रवक्ताले उनी र उनका छोरा बेरेन ट्रम्प पनि वासिङ्टनमै भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्