स्थानीय तहमा कर्मचारी खटाऊ



नेपाल संघीयताको कार्यान्वयनमा गएको डेढ वर्ष बढी भैसक्यो। स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिहरू गाउँ–गाउँमा पुगेको पनि एक वर्ष पुग्नै लागेको छ। तर संघीयता कार्यान्वयनका लागि निर्वाचन, जनप्रतिनिधि भएर मात्र पुग्दैन। त्यसका लागि तोकिएका कर्मचारी तोकिएका स्थानमा पुगेर काम पनि गर्नुपर्छ। अहिले अधिकांश गाउँपालिका र नगरपालिकामा पुग्दा कर्मचारी नभएको सूचना मात्र आउने गरेको छ। हरेक जनप्रतिनिधि आफ्नो कामको सफलता नहुनुमा कर्मचारीको अभाव देखाइरहेका छन्।

राजनीतिकरूपमा महत्वाकांक्षी नारा दिएकाहरूले काम गर्न नसक्दा केही गुनासो आउनु स्वाभाविक होला, तर कर्मचारी अभावमा अवश्य पनि धेरै काम प्रभावित भएका छन्। अधिकांश तहमा प्राविधिक कर्मचारी छैनन् भने आधाजसो वडा सचिवहरू छैनन्। राजनीतिकरूपमा निर्वाचन हुँदैमा र जनप्रतिनिधि आउँदैमा पनि विकासले गति लिन नसक्ने रहेछ भन्ने अहिले थाहा भएको छ।

कर्मचारी अभावमा विकास निर्माणका लागि विनियोजित अधिकांश रकमसमेत खर्च हुन नसक्ने अवस्थामा पुगेको छ। यो अवस्थालाई चिरेर बजेट फ्रिज हुन नदिनका लागि तत्कालै कामलाई गति दिन सकियो भने मात्र हामीले संघीयताको कार्यान्वयन सुखद बनाउन सक्छौं। नत्र भने संघीयताले सास्ती थपेको भन्दै आमजनमानसमा नकारात्मक धारणाहरू पलाउन सक्छन्। यस्तो अवस्थामा हामीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सक्दैनौं।

सिंहदरबारलाई जनताको घरदैलोमा लैजाने भनेर जसरी नारा दिइएको छ, त्यो जनताले नै बुझ्ने भाषामा हुनुपर्छ। सामान्य काम लिएर फेरि जनता सदरमुकाम धाउन बाध्य भए भने संघीयताको औचित्य समाप्त हुन्छ। त्यसका लागि सिंहदरबारका कर्मचारीहरू पनि स्थानीय तहमा पुग्नुपर्ने आवश्यकता छ। सिंहदरबारबाट हिँडेका कर्मचारीहरू बाटैमा हराए भन्ने समाचारहरू आइरहँदा पनि सरकार भने उनीहरूको खोजीसमेत गर्न सक्दैन।

स्थानीय तहमा पुगेकाहरू पनि विभिन्न बहाना बनाएर धमाधम फर्केको सूचना आउने गरेको छ। विशेष गरी प्रदेशसभामा संसद् चलाउनसमेत कर्मचारी अभाव खड्केको पाइएको छ। संसद् सचिवालयका कर्मचारीसमेत दुई–चार दिनका लागि आएर काम सिकाई फर्केको भन्ने गुनासो बढेपछि कर्मचारीको लापरबाही छताछुल्ल भएको हो।

कतिपय राजनीतिक दलका नेताहरूले त संघीयता असफल भइहाल्यो भने कर्मचारीकै लापरबाहीले हुन्छ भनेर आरोपसमेत लगाउन थालेका छन्। त्यसैले कर्मचारीलाई समयमा सम्बन्धित स्थानमा पुर्याउन सकेको खण्डमा मात्र व्यवस्थाले चाहेजस्तो काम गर्न सकिन्छ। नत्र फेरि पुरानै पद्धति ठीक थियो भन्ने मनोभावना विकास भएर राजनीतिक परिवर्तन, संघीयतालगायतका उपलब्धिसमेत गुम्ने खतरा छ।

बागलुङमा पनि ८५ वटा वडामध्ये अझै आधा सचिव नभएकाले काम प्रभावित भएको पाइएको छ। केही गाउँपालिकाले तलबबाहेक थप भत्तासमेत दिएर कर्मचारी लगेका छन्। त्यसरी लैजान नसक्नेलाई झन् सास्ती भएको छ। राज्यको काम गर्न नियुक्ति भएर आएकाहरूले तोकिएको ठाउँमा नजाँदा कारबाही नगर्ने वा तोकिएको ठाउँमा जान बाध्य पार्न पनि नसक्ने भनी सरकारको समेत आलोचना हुन थालेको छ। त्यसैले यसतर्फ सरकार कडा भएर उत्रिनै पर्छ।
– श्याम पन्थी, बुटवल

बर्डफ्लुबाट बच्न समयमै सचेत होऔं
गर्मी समय शुरूवातसँगै विभिन्न भाइरसको संक्रमणले मानिसहरू प्रभावित हुन थालेका छन्। नेपालमा बर्डझ्लु अर्थात् एभियन इन्फ्लुएन्जाको नयाँ प्रजाति एच५एन८ भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ। चितवनको माधवपुरस्थित एक पोल्ट्री फार्ममा एकसाताको अवधिमा ३ हजार ७ सयको संख्यामा कुखुरा मरेपछि बर्डफ्लुको आशंकामा स्थानीयवासी त्रसित बनेका छन्। १५ चैतमा आएको हावाहुरीसँगै कुखुराहरू भकाभक मर्न थालेको फार्मका सञ्चालकले जनाएबाट बर्डफ्लुको आशंका बढेको छ। छोटो समयमै धेरै कुखुरा मर्नुले बर्डफ्लुको आशंका बढेको छ। यद्यपि, ल्याब परीक्षणको नतिजा नआएसम्म बर्डफ्लु नै भन्न नसकिए पनि यो मौसम परिवर्तनसँगै हावाहुरीले ल्याएको भाइरसकै कारण मान्न सकिन्छ।

एच५एन८ प्रजातिको भाइरस धेरै छिटो उत्परिवर्तन (म्युटेसन) हुने भएकोले त्यसबाट मानिसहरूलाई प्रभावित हुनबाट जोगाउनुपर्ने विशेषज्ञहरूले जोड दिएका छन्। नेपालमा सबैभन्दा पहिले सन् २००९ मा झापामा बर्डफ्लुको संक्रमण भेटिएको थियो। यसपछि बिस्तारै यो संक्रमणले चितवनलगायत देशका विभिन्न जिल्लामा प्रभावित गरेको थियो।

सन् २००६ मा पहिलोपटक भारतमा देखिएको बर्डफ्लुको संक्रमण सीमावर्ती क्षेत्र हुँदै नेपालका विभिन्न कुखुरा फार्ममा फैलिएको थियो। अहिले देखा परेको भाइरस बर्डफ्लु नै नभए पनि नेपालमा बर्डफ्लुको जोखिम भने यथावत् नै छ। मानिसमा जसरी नै पक्षीहरूलाई पनि रूघाखोकी लाग्ने र पक्षीमा रूघाखोकी उत्पन्न गर्ने भाइरसले कुखुरा वा अन्य पोल्ट्री, जंगली चराचुरुंगी, घुमन्ते पक्षी, हाँसलगायतका चरा प्रभावित हुन्छन्। टाइप ए प्रजातिको रूघाखोकीको भाइरसका कारण एक पक्षीबाट अर्को पक्षीलाई सजिलै प्रभावित गर्दछ। पक्षीको रुघाखोकीको भाइरस मानिसमा सर्न दुर्लभ भए पनि सावधानी भने अपनाउनुपर्ने हुन्छ। एच५एन८ प्रजातिको भाइरसको म्युटेसन धेरै तीव्र हुने भएकाले पोल्ट्री फार्मका कामदार, कुखुराजन्य उत्पादन ओसारपसार गर्ने व्यक्ति, कुखुराको मासु बनाउने व्यक्ति, पक्षीको उपचारमा संलग्न प्राविधिकलगायतमा बर्डफ्लु सर्ने उच्च जोखिम रहन्छ। वल्र्ड अर्गनाइजेसन फर एनिमल हेल्थका अनुसार ७७ मुलुकमा १३ प्रजातिका भाइरसद्वारा बर्डफ्लु विस्तार भएको पाइएको छ।

सन् २०१६ सम्म खासगरी एच५एन१ र एच७एन९ गरी दुई प्रकारका बर्डफ्लु भाइरसबाट एसिया, प्रशान्त क्षेत्र, मध्यपूर्व, अफ्रिका र युरोपका केही भागमा सयौँ व्यक्ति प्रभावित भएका थिए। यसबाहेक पनि अर्कै किसिमको बर्डफ्लु भाइरसले मानिसलाई प्रभावित गरेको दुर्लभ घटनासमेत अमेरिकामा देखिएको थियो। मानिसमा भएको एभियन इन्फ्लुएन्जाको पहिलो घटना हङकङमा सन् १९९७ मा रिपोर्ट गरिएको थियो। यसलाई एभियन इन्फ्लुएन्जा (एच५एन१) भनिएको थियो। त्यसपछि बिस्तारै फैलिँदै गएको यो भाइरसका कारण विभिन्न देश प्रभावित हुनुका साथै मानिसको मृत्युसमेत भयो।

मानिसमा देखिने बर्डफ्लुको लक्षण पनि सामान्य रुघाखोकीभन्दा खासै फरक नहुने भएकाले सतर्कता अपनाउन जरुरी देखिन्छ। रुघाखोकी हुँदा एक सातासम्म लक्षण देखिँदै निको हुन्छ भने बर्डफ्लु भए एक–दुई दिनमै सबै लक्षण देखिएर बिरामी थला पर्ने गर्दछन्। बर्डफ्लु मानिसमा सर्दा धेरै छिटो लक्षणमा वृद्धि हुने चिकित्सकहरूको दाबी छ। बर्डफ्लुको संक्रमणबाट आँखामा संक्रमण, ज्वरो, घाँटीमा खसखस, मांसपेशीमा पीडा, रुघाखोकीजस्ता लक्षण वा श्वाससम्बन्धी रोगमा छातीमा संक्रमण, निमोनिया आदिजस्ता समस्या देखिन सक्ने भएकाले कुखुराजन्य पदार्थको प्रत्यक्ष सम्पर्कमा रहनेहरू बढी सचेत हुनु जरुरी छ।
– जमुना न्यौपाने, ओखलढुंगा

प्रतिक्रिया दिनुहोस्