मेक्सिको सीमानामा अमेरिकी नेसनल गार्ड



ह्युस्टन, (एजेन्सी)
अमेरिकी राज्य टेक्सासले राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानअनुसार मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा नेसनल गार्डका सदस्य परिचालन गर्ने घोषण शनिबार गरेको छ। सो गार्डका प्रवक्ताले आगामी ७२ घण्टाभित्र २ सय ५० जना फौज सीमा क्षेत्रमा गस्तीका लागि परिचालन गरिन लागेको बताएका छन्।

यसै बीच पछिल्लो सर्वेक्षणअनुसार ५० प्रतिशतभन्दा बढी अमेरिकी जनताको समर्थन प्राप्त भएको ट्रम्पको यस सीमा सुरक्षा अभियानलाई साथ दिन एरिजोना राज्यले पनि आगामी साता मेक्सिकोसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा १ सय ५० जना फौज परिचालन गर्ने जनाइसकेको छ।

राष्ट्रपति ट्रम्पले आफूले आफूद्वारा प्रस्तावित अग्लो पर्खाल सीमाना निर्माण नहुञ्जेल सुरक्षाका लागि नेसनल गार्डका ४ हजार सदस्य खटाउन चाहेको बताएका थिए। यसै गरी न्यु मेक्सिको र क्यालिर्फोनया राज्यलाई पनि टेक्सास र एरिजोनाको कदमको अनुशरण गर्न अनुरोध गरिएको छ।

शुक्रबार ट्रम्पले आफ्नो आप्रवासीविरुद्धको कडा नीतिअनुसार अवैध आप्रवासीलाई समात्ने र बिनाकारबाही त्यसै छोड्ने नीतिको पनि अन्त्य गरिने बताएका छन्। उनले आइन्दा यसरी पक्राउमा परेका आप्रवासीलाई सम्बन्धित राष्ट्र समक्ष सुपुर्दगी नगरुञ्जेल तिनीहरूलाई हिरासतमा राखिनुपर्ने विचार पनि व्यक्त गरेका छन्।

ट्रम्पले अमेरिकी रक्षा विभागसँग यस अभियानमा सरिक हुने सेना र अन्य निकायको विस्तृत सूची र विवरणको माग गरेका छन्। साथै उनले डेमोक्रेटहरूले खुला सीमानामार्फत लागूऔषध तश्करी र अपराधको छुट दिइरहेको आरोप पनि लगाएका छन्।

ट्रम्पले मेक्सिकोलाई सीमानामा आप्रवासीको खुला आवत–जावत नरोकेको खण्डमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) खतरामा पर्ने चेतावनी दिएका छन्। यसअघि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले ‘अपरेसन जम्प स्टार्ट’ को नाममा सीमा गस्तीका लागि करिब ६ हजार फौज परिचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्