काठमाडौं गोल्डेन्स शीर्षमा धनगढी र महेन्द्रनगर प्लेअफमा



नेपाल समाचारपत्र
काठमाडौं
धनगढीमा जारी डीपीएल २ क्रिकेटमा ३ टोलीले समूह चरण पार गरेका छन्। काठमाडौं गोल्डेन्स ४ खेलमा जित हात पार्दै शीर्ष स्थानमा रहँदै क्वालिफायर चरणमा प्रवेश हुने पक्का भइसकेको छ। आज हुने खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसँग समूहमा अन्तिम खेल खेल्नेछ।

उक्त खेलमा हार वा जित काठमाडौंका लागि कुनै महत्त्व राख्दैन। टोलीलाई कुनै पनि नतिजाले शीर्ष स्थानबाट हटाउन सकिँदैन। ५ अंकसहित तेस्रो स्थानमा रहेको महेन्द्रनगरलाई जितले क्वालिफायरमा पुगेर काठमाडौं गोल्डेन्ससँग फेरि खेल्न अवसर मिल्नेछ। हार भएमा पनि टोलीले इलिमेनेटर (प्लेअफ) चरणमा खेल्ने तय छ।

आजै हुने अर्को खेलबाट प्लेअफमा पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ। ४ अंकको विराटनगर किंग्सले ३ अंकको सीवाईसी अत्तरियासँग खेल्नेछ। दुबै टोलीका लािग प्रतियोगितामा रहिरहन जितकै आवश्यक छ भने हार्ने टोली समूह चरणबाटै बाहिरिनेछ।

शनिबार भएको खेलमा अत्तरिया र महेन्द्रनगरबीचको खेल वर्षाका कारण रद्द भएको थियो। दुबै टोलीले एक–एक बाँडे पनि महेन्द्रनगरलाई त्यही एक अंकले प्लेअफमा पुर्यायो। अत्तरियाका लागि भने अर्को खेलमा जित हात पार्ने स्थितिमा पुर्याएको छ।

अर्को खेलमा भने टिम चौराह धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ३ रनले हराएर रोमाञ्चक जित हात पारेको थियो। यो जितले धनगढीको पुरै ५ खेलबाट ६ अंक लिँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। साथै टोलीलाई प्लेअफमा पनि पुर्याएको छ। रुपन्देहीका लागि भने यो प्रतियोगिता निराशाजनक सावित हुन पुगेको छ। शक्ति गौचनको नेतृत्वमा रहेको रुपन्देही पाँचै खेल हारेर अन्तिम स्थानमा रहेको छ।

वर्षाका कारण सो खेल निर्धारित ८ ओभरमा छोट्याएको थियो। पहिले ब्याटिङ गरेको आयोजकको टोली धनगढीले ८ ओभरमा ७ विकेटको क्षतिमा ७६ रन जोडेको थियो। टोलीका लागि सोनु तामाङले सर्वाधिक ३४ रन बनाए भने रोहन मुस्तफाले १५ रनको योगदान दिए। अन्य ब्याटसम्यान दोहोरो अंकमा पनि पुग्न सकेनन्। रुपन्देहीका बलरमा सुसन भरीले ३ विकेट र दिनेश श्रेष्ठले २ विकेट प्राप्त गरेका थिए।

रुपन्देहीले जवाफमा राम्रो ब्याटिङ गरेको थियो। प्रतियोगितामा पहिलो जित हात पार्ने संकेत पनि गरेको थियो। तर टोली लक्ष्यमा पुग्न अगाडि नै ७३ रनमा समेटियो। ३३ रन बनाएर सागर पुन आउट हुनु नै टोलीका लागि जित संभव हुन सकेन। उनी टोली ६१ रनमा पुग्दा रोहन मुस्तफाको बलमा आउट भएका थिए। मुस्तफाले २ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्