पटानीलाई निकालेर अरूलाई लिइएपछि…



बलिउड नायिका दिशा पटानीको हालै रिलिज भएको फिल्म बागी–२ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। दिशा आफ्नो सफलतादेखि खुसी छन्। तर एक समय यस्तो थियो कि उनलाई बलिउडमा निकै संघर्ष गर्नुपरेको थियो।

उनी त्यही बेला चर्चामा आएकी थिइन्, जुन समय उनको पहिलो फिल्म एमएस धोनीः एन अनटोल्ड स्टोरी रिलिजमा आएको थियो। जुन फिल्ममा उनको सानो तर दमदार रोल थियो। हालै उनले आफ्नो संघर्षको बारेमा खुलासा गरेकी छन्। बलिउडको एक मिडियासँगको अन्तरक्रियामा उनले एमएस धोनीभन्दा पहिले पनि आफूले एक फिल्ममा साइन गरेको तर पछि आफूलाई उक्त फिल्मबाट निकालेर अरू कसैलाई लिइएको खुलासा गरेकी छन्।

‘मैले साइन गरेको फिल्म अरू कसैलाई दिनुको कारण के थियो मलाई थाहा भएन। तर तुरुन्तै यो रिजेक्सनले मलाई अझ धेरै मजबुत बनाउँछ भन्ने महसुस गरें’ –उनले आफ्नो शुरुआती दिनमा मुम्बईमा निकै एक्लो महसुुुस गरेको बताएकी छन्। ‘मुम्बई मेरो लागि नयाँ शहर थियो। म यहाँका कसैलाई चिन्दिनथें। त्यसैले मलाई निकै गाह्रो हुन्थ्यो। म एक्लै बस्थें र आफ्नो खर्च आफैं चलाउँथे।

म आफूसँग केवल ५ सय रुपियाँ लिएर पढ्नको लागि मुम्बई छिरेकी थिएँ। तर फिल्म खेल्नका लागि आफ्नो पढाइ नै छोडिदिएँ। त्यसपछि मैले आफ्नो लागि कहिल्यै पनि परिवारसँग पैसा मागिन’, उनले भनेकी छन्– ‘एक समय यस्तो पनि थियो, जुन बेला मसँग १ रुपियाँ पनि हुँदैनथ्यो। म टीभी विज्ञापनको लागि धेरै अडिसन दिन्थें। किनभने मैले काम पाइन भने कसरी घरको भाडा तिर्ने भन्ने कुराको चिन्ता हुन्थ्यो।’

प्रतिक्रिया दिनुहोस्