राष्ट्रलाई एकताबद्ध गर्न खेल महत्वपूर्ण ः अध्यक्ष प्रचण्ड



dig

नेपाल समाचारपत्र
काठमाडौं
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा ललितपुर टेबल टेनिस संघले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकुदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताउनुभयो।

‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकताबद्ध गर्न पनि खेल क्षेत्र असाध्यै महत्वपूर्ण र संवेदनशील क्षेत्र हो’, उहाँले भन्नुभयो– ‘स्वास्थ्यका लागि, राष्ट्रका लागि, समृद्धिका लागि र सभ्य समाजका लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु।’

अध्यक्ष प्रचण्डले आफू हाइस्कुलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बीएस्सी पढ्दा टेबुल टेनिस खेल्न थालेको अहिले पनि टेबुल टेनिस खेल्ने गरेको बताउनुभयो। ‘मैले रामपुरमा बीएस्सी पढ्दै गर्दा टेबुल टेनिस सिकेको हो। र, शान्ति सम्झौतापछि मैले नियमित टेबुल टेनिस खेल्न थालेको पनि १०÷१२ वर्ष हुन लाग्यो,’ उहाँले भन्नुभयो– ‘मैले प्रधानमन्त्री हुँदा पनि टेबुल टेनिस खेल्न छाडिनँ। बरु, बालुवाटारमा टेबुल टेनिस खेल्ने एउटा घरै बनाएको छु।’

आफू प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय खेलाडी तारिफ खानसँग टेनिस खेलेको फोटो विश्वभरि फैलिएको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘मैले टेबुल टेनिस खेलेको कुरा विश्वभरि प्रचार भएछ। मैले टेबुल टेनिस खेल्दा एसोसिएसनले पिस अवार्ड प्राप्त गरेको सुन्दा विशेष हर्ष र गर्व महसुस भएको छ।’ उहाँले सबै खेलाडीलाई बधाई र धन्यवाद दिनुभयो।

कार्यक्रमपछि अध्यक्ष प्रचण्डले केक काट्नुका साथै टेबलटेनिसका आफ्ना गुरु राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुदील शाहीका अलावा खेलाडीसँग पनि टेबलटेनिस खेल्नुभयो। शाहीले उहाँ खेलप्रेमी र खेलको विकास चाहने नेता भएको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्