काठमाडौं लगातार जित हात पार्दै



नेपाल समाचारपत्र
काठमाडौं
अन्तिम चार ओभरमा ५३ रन जोडेर काठमाडौं गोल्डेन्सले धनगढीमा जारी डीपीएल २ मा चौथो जित पनि हात पारेको छ।
शुक्रबार भएको रोमाञ्चक खेलमा काठमाडौंले पारस खड्काको विराटनगर किंग्सलाई ५ विकेटले माथ खुवाएको हो। कप्तान ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङ र सनी पटेलको छोटो तर आक्रमक ब्याटिङले टोलीको जित सम्भव भयो।

जबकि विराटनगरले बाबर हयातको आक्रमक ब्याटिङको सहयोगमा १ सय ६५ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्यलाई काठमाडौंले ५ विकेटको क्षतिमा अन्तिम बलमा पार गरेको थियो। टोलीलाई अन्तिम बलमा जितका लागि १ रनको आवश्यक भएको अवस्थामा मल्लले राम नरेश गिरीको बललाई बाउन्ड्रीबाट माथि पुर्याएका थिए।

चार विकेट ८६ रनका लागि गुमेपछि काठमाडौंमाथि विराटनगरको दबाब बढेको थियो। तर मल्ल र पुष्प थापाले पाँचौं विकेटका लागि ३१ बलमा ४७ रनको साझेदारी गरेर विराटनगरलाई उल्टो दबाबमा राखे। यो साझेदारीमा पुष्पले १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रनको योगदान दिएका थिए। उनी १८औं ओभरको दोस्रो बलमा वसन्त रेग्मीको बलमा आउट भए। वसन्तको यो खेलमा दोस्रो विकेट थियो।

यसपछि भारतीय ब्याटसम्यान पटेलले मल्ललाई साथ दिए। नटआउट इनिङ खेलका उनीहरूले १६ बलमा ३७ रनको साझेदारी गरेर विराटनगरलाई दोस्रो हार बेहोर्न बाध्य तुल्याए। उनीहरूको साझेदारीमा ४ छक्का र १ चौका प्रहार भएको थियो। मल्लले ४० बलमा ५ चौका र ४ छक्कासहित ६४ रन र पटेलले १० बलमा २५ रन जोड्दा ३ छक्का र १ चौका सामेल थिए। प्लेयर अफ द म्याच मल्ल भएका थिए।
यसअघि विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको थियो।

टोलीका लागि हङकङका ब्याटसम्यान बाबर हयात र नेपालका दिलीप नाथ मात्रै जमेका थिए। जबकि पारस र पृथु बास्कोटासमेत जम्न सकेनन्। बाबरले विस्फोटक ब्याटिङ गर्ने क्रममा ३३ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६७ रन जोडेका थिए। त्यस्तै दिलीपले ४ चौका र १ छक्काको मदतमा ३३ रनको योगदान दिएका थिए। काठमाडौंका बलरमा ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्