नर्भ एजेन्ट हमला प्रकरण: युलिया र एक नातेदारबीचको फोन वार्ता सार्वजनिक



दुबैको स्वास्थ्य ठीक भएको खुलासा

मस्को (एजेन्सी)
पुर्व रुसी जासुस सर्गेइ स्क्रिपलको हत्या प्रयासको मामिलामा ताजा घटनाक्रमले नयाँ मोड लिन सक्ने संकेत दिएको छ।

रुसको सरकारी टेलिभिजनले एउटा फोनकल सार्वजनिक गरेको छ। जुन उक्त घटनामा घाइते भएकी युलिया स्क्रिपल र उनका एक नातेदारको बीचको भएको दावी गरिएको छ।

गत मार्चमा एक नर्भ एजेन्ट आक्रमणपछि पिडित सर्गेइ स्क्रिपल र उनकी छोरी युलिया स्क्रिपल सेलिस्बरी अस्पतालमा छन्। उनीहरूको अवस्था गम्भिर भएको बताइएको थियो।

उक्त फोन रिकर्डिंगमा युलियाले आफना नातेदारलाइ उनीहरू स्वस्थ रहेको बताइरहेकी थिइन्। यद्यपी अहिलेसमम उक्त फोन रिकर्डिंगको पुष्टि हुन सकेको छैन।

बेलायतको सरकारले सर्र्गेई स्क्रिपलमाथि भएको आक्रमणमा रुसको संलग्नता रहेको आरोप लगाएको छ। तर बेलायत स्थित रुसका राजदुतले मस्कोसँग नर्भ ग्यासको कुनै स्टक नभएको बताएका थिए।

सर्गेइ स्क्रिपलको मामिलामा बेलायत र रुसबीच तनावले अन्तर्राष्टिय कुट्नितिक संकटको रूप लिइरहेको छ।

उक्त कथित फोन रिकर्डिंगमा युलिया आफना नातेदार विक्टोरिया स्क्रिपललाई भनिरहेकी थिइन्– यहाँ सबै ठिक छ। बुबा आराम गरिरहेका छन्। उ सुतिरहेको छ। हाम्रो स्वास्थ्य ठीक छ। त्यस्तो कुनै खराबी छैन, जुन ठीक नहोस्। हस्पिटलबाट हामी चाँदै डिस्चार्ज हुनेछौं।

विक्टोरिया स्क्रिपलले उक्त वार्तामा भिसा मिलेमा बेलायत गएर नातेदारसँग भेट्ने अपेक्षा ब्यक्त गरेकी थिइन्। त्यसको जवाफमा युलियाले विक्टोरियालाई उनले सम्भवत कुनै प्रकारको भिसा नपाउने बताएकी थिइन्। रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले विक्टोरियालाई उदृत गर्दै उनको युलियासँग कुरा भएको र त्यहाँ सबै कुरा ठीक भएको उनले बताएको उल्लेख गरेको छ।

विक्टोरिया स्क्रिपल परिवारको सबैभन्दा नजिकको नातेदार मानिन्छ। सेलिस्बरीको अस्पतालमा युलियाको स्वास्थ्य स्थिति ठीक भएको बताइएको छ भने उनका ६६ बर्षिय पिता सर्गेइको स्थिति गम्भिर तर स्थिर रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्