पुनीतको अलराउन्ड प्रदर्शनमा महेन्द्रनगरको जित



नेपाल समाचारपत्र
काठमाडौं
पुनीत विष्टको अलराउन्ड प्रदर्शनमा डीपीएल २ क्रिकेटअन्तर्गत बिहीबारको खेल जित्दै महेन्द्रनगर युनाइटेड अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

धनगढीमा जारी डीपीएलमा महेन्द्रनगरले शक्ति गौचनको नेतृत्वमा रहेको रूपन्देही च्यालेन्जर्सलाई ४ विकेटले हराएको हो। यो जितसँगै महेन्द्रनगरले ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिन पायो। पहिलो स्थानमा ६ अंकसहित ज्ञानेन्द्र मल्लको टोली काठमाडौं गोल्डेन्स रहेको छ।

यसै गरी हिजै सम्पन्न अर्को खेलमा विराटनगर किंग्सले आयोजकको टोली धनगढी टिम चौराहलाई १८ रनले हरायो। पारस खड्का कप्तान रहेको विराटनगर पनि तीन खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ भने धनगढी हारसँगै दोस्रोबाट चौथो स्थानमा चिप्लेको छ। धनगढीको चार खेलबाट चारै अंक रहेको छ।

टस जितेर ब्याटिङ गरेको रूपन्देहीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो। सो मध्यम लक्ष्य महेन्द्रनगरले ६ विकेट गुमाएर ७ बल बाँकी राखी भेटाएको थियो। महेन्द्रनगरको जितमा पुनीतले बल र ब्याटबाट सानदार प्रदर्शन गरे। पहिले बलिङमा ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिएर रूपन्देहीको इनिङ खुम्च्याए।

ब्याटिङमा पुनीतले कप्तान विनोद भण्डारीसँग उत्कृष्ट ब्याटिङ गरेका थिए। २ विकेट १७ रनको लागि गुमाएपछि दवावमा पुगको टोलीलाई पुनीतको आक्रमक ब्याटिङले उकास्न मद्दत भएको थियो। पुनीतले २२ बलमा ४ छक्का र ३ चौका प्रहार गरेर ४५ रन बनाउँदै टोलीलाई जितको आधार तयार गरेका थिए। तेस्रो विकेटका लागि प्लेयर अफ द म्याच पुनीतले भण्डारीसँग ५८ रनको साझेदारी गरेका थिए।

भण्डारीले पनि कप्तानी भूमिका राम्ररी निभाए। ४८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै छैटौं विकेटका रूपमा आउट भएका विनोदले ६१ रन जोडेका थिए। दिपेश श्रेष्ठको बलमा उनी आउट हुँदा सम्ममा टोली जितबाट ८ रनले पछाडि थियो। बलिङतर्फ दिपेशले रूपन्देहीका लागि ३ विकेट झारेका थिए। त्यस्तै सुसन भरीले २ विकेट लिएका थिए।
यस्तै अर्को खेलमा विराटनगरले १ सय २८ रनको लक्ष्य दिएकोमा धनगढी १ सय ८ रनमै समेटिएको थियो। असुरक्षित देखिएको लक्ष्य सुरक्षित बनाउन पवन शराफले ४ तथा कप्तान पारस र वसन्त रेग्मीले २⁄२ विकेट लिएका थिए। उनीहरूको घातक बलिङले गर्दा धनगढीका कोही पनि खेलाडी व्यक्तिगत ३० रनमा पुग्न सकेनन्।

यसअघि विराटनगरले पवनकै ब्याटिङको सहयोगमा सम्मानजनक स्कोर बनाएको थियो। मध्य क्रममा ब्याटिङ गरेका पवनले ४१ रन जोडेका थिए। यो नै टोलीका लागि सर्वाधिक योगदान बनेको थियो। धनगढीको तर्फबाट बलिङमा सुनील धमलाले किफायती बलिङ गरे पनि ब्याटिङ धरासयी हुँदा टोलीले जित दर्ता गर्न सकेन। सुनीलले ४ विकेट लिन १० रन मात्रै दिएका थिए।

प्रतिक्रिया दिनुहोस्