बार्सिलोनाको एक पाइला सेमिफाइनलमा



लन्डन, (एजेन्सी)
यूएफा च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लेगमा एएस रोमालाई ४–१ गोलअन्तरले हराएर बार्सिलोनाले एक पाइला प्रतियोगिताको सेमिफाइनलतिर चालेको छ।

बार्सिलोनाले इटालियन सिरी ए टोली रोमालाई बुधबार राति आफ्नो घरेलु मैदानमा हराएको हो।३ गोलको अग्रताले गर्दा बार्सिलोनाले अन्तिम चारको यात्रा गर्न आगामी दोस्रो लेग खेल बराबरी गरे पुग्छ। रोमाका लागि भने आफ्नै घरेलु मैदान स्टेडियो ओलम्पिकोमा अर्को बुधबार हुने सो खेल ३–० गोलअन्तरले जित्नुपर्ने दबाब बनेको छ।

बार्सिलोनाले रोमालाई हराउन २ आत्मघाती गोलले पनि सहज भएको थियो। बार्सिलोनाले खेलको ३८औं मिनेटमा रोमाका डेनियल डी रोसीको आत्मघाती गोलबाट शुरूआती अग्रता लिएको थियो। यस्तै रोमाका कोस्टास मानोलासले ५५औं मिनेटमा अर्को आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ५९औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोनाको गोल संख्या ३ पुगेको थियो।

यता ८०औं मिनेटमा रोमाका लागि एडिन जेकोले एक गोल फर्काउन सफल भए। तर खेलको ८७औं मिनेटमा लुइस स्वारेजले चौथो गोल थपेपछि रोमाको लागि खेलमा फर्कने सम्भावना समाप्त भएको थियो। स्वारेजको यो १० च्याम्पियन्स लिग खेलपछि पहिलो गोलसमेत थियो। उनले मार्च २०१७ देखि गोल गरेका थिएनन्।

लिभरपुलको सानदार जित
च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले पनि सानदार जित हात पारेको छ। जारी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेका म्यानचेस्टर सिटीलाई ३–० गोलअन्तरले हराउँदै लिभरपुलले जित हात पारेको हो। घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह, अक्सलेड चेम्बरलेन र साडियो मानेले एक–एक गोलको योगदान गरेका थिए।

तीनै गोल पहिलो हाफको आधा घन्टाभित्र सम्भव भएका थिए। जारी सिजन गोल मेसिनको उपमा पाएका सलाहले १२औं मिनेटमा गोल गर्दै लिभरपुललाई शुरूआती अग्रता दिलाएका थिए। योसंगै जारी सिजन सबैखाले प्रतियोगितामा गरि उनले आफ्नो गोल संख्या ३८ पुर्याएका छन्।

यस्तै चेम्बरलेनले खेलको २१औं मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। ३१औं मिनेटमो मानेले हेडमार्फत गोल गर्दा लिभरपुलको गोल संख्या तीन पुर्याए। सुरुको आधा घन्टाभित्र ३ गोल बेहोरेको सिटीले त्यसपछि सुधारिएको खेल प्रदर्शन गरे पनि कुनै गोल फर्काउन सकेन। म्यानचेस्टर सिटीले आगामी बुधबार हुने खेलमा लिभरपुललाई ४–० गोलअन्तरले हराउनुपर्ने हुन्छ। लिभरपुलका लागि भने यो जितको बाबजुद सेमिफाइनल पक्का नभएको प्रशिक्षक यर्जेन क्लोपले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्