प्रमको भारत भ्रमणमा पञ्चेश्वरले प्राथमिकता पाउने आशा



विनोदसिंह विष्ट, बैतडी
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले प्राथमिकता पाउने बैतडीबासीले आशा गरेका छन्। लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर आयोजनाको काम अघि बढ्न नसकेकाले यसलाई अघि बढाउन प्रधानमन्त्रीको भ्रमणले सहयोग पुग्ने आशा गरिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो– ‘पञ्चेश्वर आयोजना धेरै पहिलादेखि चर्चामा रहेको भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसकेकाले यसलाई कार्यान्वयनमा ल्याउन भ्रमणका बेला प्रधानमन्त्रीले चासो दिनुपर्छ।’

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले पञ्चेश्वर आयोजनाको कामलाई अघि बढाउन यसअघिका भ्रमणका बेला पनि चर्चा आउने गरेको बताउँदै अब काम हुने हिसाबले चर्चा हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘आयोजना यो क्षेत्रका लागि राम्रो हुने देखिन्छ।’

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना बैतडीमात्रै नभएर प्रदेश नम्बर ७ को समृद्धिसँग जोडिएको आयोजना भएकाले यसलाई जसरी पनि अघि बढाउनुपर्ने स्थानीयबासीको भनाइ छ। नेपालका तर्फबाट सन् १९९५ मा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन बनेको भए पनि खासै काम अघि बढ्न सकेको छैन। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट ६ हजार ४ सय ८० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको बेलासमेत बैतडीका सबै उम्मेदवारले चुनावी एजेन्डा बनाएका थिए। निर्वाचनका बेला आफूले जितेमा बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य अगाडि बढाउने बताएका थिए।
पञ्चेश्वरको निर्माणबाट आयोजना क्षेत्रका नागरिकलाई असरसँगै विभिन्न फाइदा पनि हुने योजनामा उल्लेख गरिएको छ। आयोजना निर्माणको क्रममा हजारौंलाई रोजगारी सृजना हुनुका साथै यस क्षेत्रको सामाजिक, आर्थिक विकासले फड्को मार्ने भएकाले स्थानीय जनता उत्साहित भएका हुन्।

जलाशाय निर्माणपश्चात् पानीको सतहको क्षेत्रफल तथा आयतन बढ्दा मत्स्यपालन हुने, पर्यटनको विकासमा टेवा पुग्ने, रोजगारी वृद्धि भई नागरिकलाई जीविकोपार्जन गर्न सहज हुने तथा गरिबी निवारणमा टेवा पुग्ने विज्ञहरूको भनाइ छ। जलाशायबाट माछा पालनको ठूलो सम्भावना हुने र पर्यटनको विकासले पनि फड्को मार्ने देखिन्छ।

वातावरणीय प्रभाव मूल्यांकनमा असर औंल्याएर समाधानका लागि पनि १० वटा मुख्य उपयोजना यसअघि नै बनाइएको छ। निर्माण प्रभाव व्यवस्थापन योजना, जल ग्रहण क्षेत्र व्यवस्थापन योजना, प्रदूषण व्यवस्थापन योजना, वन संरक्षण तथा व्यवस्थापन योजना, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन योजना, माछा व्यवस्थापन योजना, जडीबुटी व्यवस्थापन योजना, कृषि सहयोग योजना, पञ्चेश्वर सहयोग योजना र पर्यटन विकास योजना तयार गरिएको छ। यी योजनामा प्रभावित क्षेत्रमा देखिने सबै किसिमका असर तथा प्रभावबाट उत्पन्न समस्या समाधानका लागि गरिने कार्य तथा गविधि सूचीकृत गरिएको छ।

विकास हुने संरचना निर्माणको क्रममा हुने वातावरणीय क्षतिलाई व्यवस्थापन गर्दै आयोजनालाई दिगो बनाउन यी योजना लागू हुने वातावरणविद्हरूको भनाइ छ। यो विस्तृत योजनालाई पञ्चेश्वर विकास प्राधिकरण र त्यसअन्तर्गतका एकाइ, परामर्शदाता, निर्माण ठेकेदार, विशेषज्ञ टोलीले कार्यान्वयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्