काठमाडौं गोल्डेन्सको लगातार तेस्रो जित



नेपाल समाचारपत्र
काठमाडौं

काठमाडौं गोल्डेन्सले धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) २ मा लगातार तेस्रो जित हात पारेको छ। काठमाडौं गोल्डेन्सले बुधबार भएको खेलमा सीवाईसी अत्तरियालाई ११ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो। काठमाडौं गोल्डेन्सले १ सय ३८ रनको लक्ष्य जोगाएको थियो। अन्तिममा अत्तरियाका ब्याटसम्यानले आक्रमक ब्याटिङ गरे पनि काठमाडौंका बलरले उनीहरूलाई रोकेका थिए। अत्तरियालाई ८ विकेटका क्षतिमा १ सय २६ रनमा समेटेपछि काठमाडौंको जित पक्का भएको थियो। यो जितसँगै काठमाडौं गोल्डेन्सले ३ खेलबाट ६ अंक जोडेको छ। अत्तरियाको भने यो तीन खेलमा दोस्रो हार थियो।
काठमाडौं गोल्डेन्सको जितमा भारतीय बलर सुबोध भाटीले किफायती बलिङ गरेका थिए। प्लेयर अफ द म्याच भाटीले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिएका थिए। त्यस्तै अर्का भारतीय बलर सन्नी पटेलले २ विकेट लिँदा वीरगन्जका खेलाडी रसिड खानले पनि २ विकेट नै हासिल गरेका थिए। अत्तरियाका लागि गौरव चितकाराले २६ बलमा ३६ रन जोडे भने नटआउट भएका विपिन चन्द्राले २६ रन बनाएका थिए।

यसअघि कप्तान ज्ञानेन्द्र मल्लको प्रेरणा पाएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन जोडेको थियो। ज्ञानेन्दले आक्रमक ब्याटिङ गर्नेक्रममा ४३ बलमा ५७ रन बनाए। उनको ब्याटिङमा ४ चौका र ३ छक्का सामेल थिए। यस्तै नरेश बुढाएरले १७ बलमा २ चौका र २ छक्कासहित २७ रनको योगदान दिएका थिए।
विराटनगरको पहिलो जित डीपीएल २ अन्तर्गत विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ। बुधबार भएको खेलमा विराटनगरले रूपन्देही च्यालेन्जर्सलाई ४२ रनले हराएको हो। विराटनगरले यसअघिको खेल हारेको थियो। उता विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउन नसक्दा रूपन्देहीले प्रतियोगितामा लगालग तेस्रो हार बेहोर्न बाध्य भयो। रूपेन्देहीले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ३९ रन बनाएको थियो। टोलीका लागि प्रदीप ऐरीले ५० बलमा ५४ रनको अद्र्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यान चल्न नसक्नु नै हारको कारण बन्यो। उनले ६ चौका र २ छक्का प्रहार गरे। विराटनगरका शुभम कामतले ३ विकेट लिएका थिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो। टोलीका बाबर हयातले ३५ बलको सामना गर्दै ५८ रनको अद्र्धशतकीय पारी खेले। उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए। प्लेयर अफ द म्याच बाबरले नगद १० हजार पनि पाएका थिए।

प्रतिक्रिया दिनुहोस्