नालायक नबन्ने उपाय



नेपाली क्रिकेट टोलीले एकपछि अर्को सफलता प्राप्त गरिरहेका बेला मुलुकभित्रै अन्तर्राष्ट्रियस्तरको गतिलो क्रिकेट स्टेडियम बनाइनुपर्छ भन्ने आवाज बलियो भएको छ। त्यो आवाज कलाकार धुर्मुस र सुन्तलीको कानमा नपुग्ने कुरै भएन, त्यही भएर धुर्मुस–सुन्तली फाउन्डेसनले स्टेडियम बनाउने तत्परता देखाएको छ।

पुनर्निर्माण र सामूहिक आवास निर्माणमा गतिलो परिचय स्थापित गरेको फाउन्डेसनलाई पत्याउने धेरै छन्। त्यही भएर होला फाउन्डेसनले स्टेडियम बनाउने चासो मात्रै के लिएको थियो, जग्गा उपलब्ध गराउने प्रतिस्पर्धा नै शुरू भएको छ। चितवन महानगर र रूपेन्देहीको सैनामैना नगरलगायतले जग्गा दिने घोषणा गरेका छन्।

त्यस्तो घोषणालगत्तै उत्साहित बनेका फाउन्डेसनका पदाधिकारीलेजग्गा अनुगमन गर्न थालेका छन्। अनुगमनको ‘फ्रन्ट लाइन’मा देखिन्छन् मुख्यमन्त्री, राखेप सदस्य सचिव, खेलकुद निकायका अधिकारी र अन्य धेरै सरोकारवाला। यस्ता अनुहारलाई धरहरा निर्धक्क नालायक भन्छ।

धुर्मुस–सुन्तलीले चन्दा उठाएर स्टेडियम बनाउने आँट गर्ने, अनि सरकारले नसक्ने भएपछि भएनन् त, सरकारी अधिकारी नालायक? स्टेडियमका लागि नगरपालिकाहरूले घोषणा गरेको जग्गा सरकारकै हो, त्यसैले अब सरकारले फाउन्डेसनलाई जग्गा निःशुल्क उपलब्ध गराएर सहयोग गर्ने कि? नालायक सरकार नबन्नका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई केही रुपियाँ अनुदान उपलब्ध गराए पनि त भै गो।

प्रतिक्रिया दिनुहोस्