थ्री स्टारलाई मदन भण्डारी गोल्डकप



यमलाल भुसाल, बुटवल

दुई साताअघि बुटवलमै २०औं तिलोत्तमा गोल्ड कपको उपाधि जितेको थ्री स्टार क्लब काठमाडौंले तेस्रो मदन भण्डारी गोल्डकपको उपाधि पनि जितेको छ।

सोमबार भएको फाइनल खेलमा मनाङमस्र्याङ्दी क्लबलाई २–१ गोल अन्तरले स्तब्ध बनाउँदै थ्री स्टारले उपाधि जितेको हो। खेलको दोस्रो मिनेटमै विमल रानाको हेड गोलमार्फत अग्रता लिए पनि मनाङले नतिजा आफ्नो पक्षमा पार्न सकेन।

पहिलो हाफमा १–० ले अग्रता कायम गरेको मनाङल दोस्रो हाफमा कुनै गोल गर्न नसक्दा उपविजेतामा चित बुझाउन परेको हो। खेलको ६७औं मिनेटमा थ्री स्टारका अनन्त तामाङले गोल फर्काएर बराबरीमा पुर्याए भने ८१औं मिनेटमा विदेशी खेलाडी मार्टिनले निर्णायक गोल गरेर टिमलाई जित दिलाए। प्रतियोगिताको उत्कृष्ट खेलाडी मनाङका अञ्जन विष्ट घोषित हुँदै नगद ५० हजार पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट रक्षक थ्री स्टारका पिटर, उत्कृष्ट गोलकिपर आयोजकका विनायक श्रेष्ठ, उत्कृष्ट फरवार्ड थ्री स्टारका मार्टिन उत्कृष्ट मिड फिल्डर थ्री स्टारका निराजन खडका, सर्वाधिक गोलकर्ता मनाङका अञ्जन विष्ट र उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसी घोषित हुँदै जनही १५ हजार नगद पुरस्कार प्राप्त गरे। फाइनल प्रतियोगिताको म्यान अफ दि म्याच थ्री स्टारका अनन्त तामाङ घोषित भए। उनले नगद १० हजार पुरस्कार प्राप्त गरे।

उपाधिसँगै थ्री स्टारले नगद १५ लाख हात पारेको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं. ५ को आयोजनामा सञ्चालित मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपविजेता मनाङले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा विजेता तथा उपविजेतालाई प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले पुरस्कार प्रदान गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्