पीएमलाई सुझाव



प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा कुनै पनि नयाँ सम्झौता नहुने रे। विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिन नेपालले यस्तो होमवर्क गरेको बताइएको छ।

तर केही गरी भारतले ‘यस्तो सम्झौता गरौं’ भन्दै कुनै प्रस्ताव गर्यो सरकारको जवाफचाहिँ के हुन्छ होला, यसो धरहराको जिज्ञाशा। विगतमा सम्झौता कार्यान्वयन गर्नकै लागि होला केपी र उनका समकक्षी मोदीले दिल्लीबाटै अरूण तेस्रो परियोजनाको संयुक्त शिल्यान्यास गर्ने रे। अरू के–के परियोजना कार्यान्वयन भएका छैनन्, तीनको पनि सूची तयार गरौं, बरु दिल्लीबाट शुभारम्भ गरौं, गराऊँ। परियोजना कार्यान्वयनको अनुगमन पनि दिल्लीबाटै गर्ने, गराउने हो कि? आखिर सूचना प्रविधिको जमना जो छ।

प्रविधिका कारणले मंगलग्रह र अन्य ग्रहको अवस्था त पृथ्वीबाट नियाल्न सकिन्छ भने अरूण र अन्य परियोजनाको अनुगमन के नै गाह्रो भयो र? पीएम ओलीको भ्रमणकै क्रममा बरु मंगलग्रहमा बस्ती बसाल्ने संयुक्त शुभारम्भ पनि गराउने कि? तै नेपाल पनि सूचना प्रविधिको मामिलामा विश्वमा चिनिथ्यो कि? लौन, पीएमलाई सल्लाहकारहरूले बेलैमा सुझाव दिनुपर्यो।

प्रतिक्रिया दिनुहोस्