टाटा मोटर्सको आयोजनामा ‘वाकाथन’



नेपाल समाचारपत्र
काठमाडौं
‘शिक्षामा समानता आजको आवश्यकता’ भन्ने नाराको साथ टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङले वाकाथन आयोजना गरेको छ। टाटा र यसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङद्वारा संयुक्त आयोजित वाकाथनको प्रमुख उद्देश्य नेपाली शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउनु रहेको जनाइएको छ।

यस कार्यक्रममा सहभागी हरेक व्यक्तिबराबर हजार रुपियाँका दरले टाटा र सिप्रदीद्वारा शिक्षा क्षेत्रको विकासका लागि आर्थिक सहयोग प्रदान गर्नेछ। करिब पाँच सय जनाको सहभागिता भएको वाकाथन टाटा मोटर्सको शोरूम रहेको थापाथलीबाट शुरू भई त्रिपुरेश्वर, रत्नपार्क, भद्रकाली, माइतीघर हुँदै करिब ४ किलोमिटरको दूरी पार गर्दै पुनः थापाथलीस्थित टाटाको शोरूममा पुगेर टुंगिएको थियो।

कार्यक्रममा टाटा मोटर्स नेपालको लागि कन्ट्री म्यानेजर अजितनारायण सिंहले आफूहरूले यस वर्ष पनि नेपालको शिक्षा जगतको विकास र विस्तारको लागि केही नयाँ प्रयास गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले शिक्षासम्बन्धी व्यापक चेतनाको विकासको लागि ठूलो भूमिका खेल्ने र अरूलाई पनि यस्तै कार्य गर्न उत्प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ सम्शेर राणाले सिप्रदीले सधैं सामाजिक उत्तरदायित्व प्रभावकारी ढंगले पूरा गर्न कटिबद्ध रहेको जनाउनुभयो। एक वर्ष अगाडि टाटा र सिप्रदीले संयुक्त रूपमा शिक्षाको लागि टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्