भर्ना अभियान सबैको हातमा नयाँ पाठ्यपुस्तक



पुष्कर बुढाथोकी

शिक्षा विभागले आगामी वैशाख २ गतेदेखि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका देशभर भर्ना अभियान शुरु गर्ने भएको छ। विभागका अनिवार्य शिक्षा शाखाका उपनिर्देशक नरहरि अर्यालले शैक्षिक सत्र २०७४ मा ९७.२ प्रतिशत विद्यार्थी भर्ना दर पुर्याएकोमा यस वर्ष यसलाई वृद्धि गर्न अभियान नै सञ्चालन गरेर विद्यार्थी भर्ना अभिायन सञ्चालन गरिने जानकारी दिनुभयो।

बालबालिकालाई विद्यालय ल्याउन अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो। विद्यालयबाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरूलाई विद्यालयमा ल्याउन उनीहरूलाई विद्यालयमा टिकाइराख्न भर्ना अभियान सञ्चालन गर्न लागेको हो। वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान र पुस्तक वितरण कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्ने उहाँको भनाइ थियो।

आगामी शैक्षिक सत्र २०७५ को शुरुमा नै विभागले ४ देखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित समूह मानी भर्ना अभियानलाई तीव्रता दिने तयारी गरेको छ। यसका लागि शिक्षा मन्त्रालय र मातहतका कार्यालयले निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा, अभिभावक शिक्षा अभियान जस्ता कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने विभागले जनाएको छ।

उपनिर्देशक अर्यालले शैक्षिक सत्र २०६१ देखि हरेक वर्ष प्राथमिक तहको राष्ट्रिय खुद भर्ना दरको वृद्धि दर बढ्दै गएको बताउँदै २०६१ मा ८० प्रतिशत मात्र रहको भर्ना दर २०७४ मा आइपुग्दा ९७ दशमलव २ प्रतिशत पुगेको बताउनुभयो। ४ देखि १२ वर्षका सबै बालबालिका अभियानको लक्ष्य रहेको बताउँदै उहाँले यसका लागि लाखौं जनशक्ति परिचालित हुने जानकारी दिनुभयो।

आधारभूत तहमा सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेका १३ जिल्ला रहेको विभागले जनाएको छ। त्यसमध्ये पनि सर्लाहीमा २५ हजार ५ सय १५ बालबालिका विद्यालयबाहिर रहेको शैक्षिक तथ्यांक २०७४ ले औंल्याएको छ। सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेका अन्य जिल्लामा धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिराहा, महोत्तरी र बाँके छन्।

प्राथमिक तह (१ देखि ५) मा खुद भर्नादर ९८ प्रतिशत र सोभन्दा माथि रहेका २२ जिल्ला छन् भने नवलपरासी, उदयपुर, लमजुङ, कैलालीमा भर्नादर ९८ दशमलव ९ प्रतिशत रहेको छ। अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत, तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यकम सञ्चालन गरिएको बताउँदै अर्यालले अझै पनि झण्डै ३ लाखमा बढी आधारभुत तह विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय शिक्षाको पहुँचबाहिर रहनु दुःखद भएको बताउनुभयो।

पछिल्लो तथ्यांकअनुसार प्रारम्भिक तहमा प्राथमिक उमेर समूह (५–९) वर्षका विद्यार्थीको खुद भर्नादर राष्ट्रिय औसत ९७ दशमलव २ प्रतिशत रहेको हुँदा २ दशमलव ८ प्रतिशत बालबालिका अझै बालबालिका विद्यालयबाहिर रहेका छन्। यसै गरी आधारभूत तह (कक्षा १–८) को ५ देखि १२ वर्ष उमेर समूहका खुद भर्नादर राष्ट्रिय औसत ९२ दशमलव ३ पुगेकोले अझै ७ दशमलव ७ प्रतिशत बालबालिका विद्यालयबाहिर
रहेको देखिन्छ।

यसैले पनि विद्यालयबाहिर रहेका सबै बालबालिबालाई विद्यालयमा सहज पहुँचको सुनिश्चितताका लागि भर्ना अभियानमा सहयोग पुर्याउन विभागले सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सरकारी एवं गैरसरकारी संघ–संस्था, सञ्चारकर्मी, स्थानीय तह, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई अपिल गरेको छ।

नयाँ शैक्षिक सत्र २०७५ मा कक्षा १ देखि १० सम्मको कुनै पनि पाठ्यपुस्तक अभाव नहुनेसमेत शिक्षा विभागले दाबी गरेको छ। शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र र निजी छापाखानाहरूले यस्तो दाबी गरेका हुन्। आगामी वैशाख २ गतेबाट शुरु हुने भर्ना अभियानकै क्रममा विद्यार्थीको हात हातमा पूरै सेट पाठ्यपुस्तक पुर्याउने बताइएको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले यस वर्ष पाठ्यपुस्तकको अभाव नहुने गरी छपाई र वितरणको व्यवस्था मिलाइएको बताउनुभयो। उहाँले चैत २५ गतेसम्म सबै जिल्ला र सदरमुकाममा पुस्तक पुगिसक्नुपर्नेमा जोड दिँदै यसका लागि केन्द्रीय अनुगमन समिति नै बनाएर काम गरिएको जानकारी दिनुभयो।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक महेशप्रसाद तिमल्सिनाले केन्द्रले आफ्नो जिम्मामा आएको ९० प्रतिशत पाठ्यपुस्तक छपाई सम्पन्न गरी वितरण केन्द्रहरूमा पठाउन शुरु गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘बाँकी १० प्रतिशत पुस्तक पनि केही दिनमै छपाई सक्छौं र यस वर्ष विद्यार्थीलाई सेटमै पुस्तक उपलब्ध गराउँछौं र कुनै पनि पुस्तकको अभाव हुन दिन्नौं।

‘जनक शिक्षाले गत वर्ष २ करोड पुस्तक छपाई गरेको थियो, जसमध्ये १ करोड ५७ लाख थान पुस्तक बिक्री भयो, ३० लाख पुस्तक अझै स्टक छ’, उहाँले भन्नुभयो– ‘त्यसैले यस वर्षका लागि १ करोड ८३ लाख ६ हजार पुस्तक छपाई गर्नुपर्ने अनुमान गरेका छौं, जसमध्ये १ करोड ६६ लाख ४५ हजार ७ सय ४ थान पुस्तक छापेर वितरण शुरु गरिसकेका छौं, बाँकी २६ लाख २ सय ४ थान पुस्तक केही दिनमै छापिसक्छौं।’
शिक्षा विभाग शैक्षिक सामग्री शाखाका उपनिर्देशक देवीरमण अर्यालले पाठ्यपुस्तक वितरणका बारेमा जानकारी दिँदै मुद्रक र वितरकहरूले यही चैत २५ गतेसम्म देशभरका ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याइसक्नुपर्ने गरी निर्देशन जारी गरिएको बताउनुभयो।

चैत १५ गतेदेखि वैशाख २ गतेसम्म पाठ्यपुस्तक वितरणलाई प्रभावकारी बनाउने गरी कार्यहरू अगाडि बढाएको बताउँदै उहाँले चैत २५ गतेभित्र सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइने र वैशाख २ गतेदेखि भर्ना हुने सबै विद्यार्थीलेपूरै सेटमा नयाँ पाठ्यपुस्तक पाउँने दाबी गर्नुभयो।

कक्षा १ देखि १० सम्मको ५५ लाख ३० हजार ५ सय ३१ विद्यार्थीमध्ये कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ३३ लाख ५ हजार ६ सय १४ विद्यार्थीका लागि १ करोड ६५ लाख २८ हजार ७० थान निजी छापाखानालाई पुस्तक छपाईको जिम्मेवारी दिएको उपनिर्देशक अर्यालले जानकारी दिनुभयो।

त्यसै गरी कक्षा ६ देखि १० सम्मका २२ लाख २४ हजार ९ सय १७ विद्यार्थीका लागि १ करोड ९२ लाख ३९ हजार ६ सय ५६ थान पाठ्यपुस्तक छपाई गर्न जनक शिक्षालाई दिएको उहाँको भनाइ थियो सरकारले कक्षा १ देखि ५ सम्मका पुस्तक निजी छापाखाना र कक्षा ६ देखि १० सम्मका पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाई गर्ने जिम्मा दिएको छ।

कार्यक्रममा निजी छापाखानाका प्रतिनिधि दीपक भण्डारीले यस वर्ष कुनै पनि जिल्लामा पुस्तक अभाव नहुने दाबी गर्दै निजी छापाखानाले पनि समयमै पुस्तक छपाई सकेर वितरण गर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘कक्षा १ देखि ५ सम्मका पुस्तक छाप्ने जिम्मा पाएको १७ वटा छापाखानाले अहिलेसम्म १ करोड थान पुस्तक छापेर १५ प्रतिशत वितरण भइसकेको छ, थप २५ लाख थान पुस्तक छपाईको तयारीमा नै छ, गतवर्षको बिक्री हुन बाँकी किताब पनि छन्, कुनै पनि जिल्लामा पुस्तक अभाव हुँदैन, समय मै पुग्छ।’

पुस्तक वितरणमा यस वर्ष स्थानीय तहको प्रभावकारी भूमिका हुनुपर्ने उल्लेख छ। पुस्तक खरिदका लागि सरकारले यसवर्ष देशभरका स्थानीय तहका बजेट पठाइसकेकाले समयमै स्थानीय निकायले पुस्तक खरिदका लागि विद्यालयलाई रकम दिने वा स्थानीय तह आफैंले पुस्तक खरिद गरी विद्यालयमा वितरण गर्ने व्यवस्था गरे पुस्तक अभाव नहुने विभागको भनाइ छ। सामुदायिक विद्यालयमा भर्ना हुने कक्षा १ देखि ५ सम्मका सबै बालबालिकालाई यस वर्षदेखि रंगिन पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही चैत १२ गते सरोकार भएका निकायका प्रमुखलाई बोलाई आगामी शैक्षिकसत्र २०७५ मा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएपछि दैनिक प्रगति विवरण संकलन शुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव प्रेमकुमार राईको अध्यक्षतामा चैत १२ को बैठकले कक्षा १ देखि ५ सम्म केन्द्र र ६ देखि १० सम्म निजी क्षेत्रले यही चैत २५ गतेभित्र सबै जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पुर्याइसक्न निर्देशन दिइसकेको छ। यसअघि समयमा पाठ्यपुस्तक नपुर्याएको र शैक्षिक सत्र शुरु हँुदा मात्र होइन सकिन लाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेको भन्दै शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द लिमिटेड, साझा प्रकाशनलगायत सरकारको आलोचना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्