कटारी गोल्डकपको उपाधि झापालाई



कटारी, (नेस)
उदयपुरको कटारीमा सम्पन्न चौंथो कटारी मेयर गोल्डकपको उपाधि झापा–११ ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा काठमाडौंको संकटा क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराएर झापाले उपाधि जितेको हो। उपाधिसँगै टोलीले ५ लाख नगद पनि हात पार्यो।

उपविजेता संकटाले नगद २ लाख ५१ हजार रुपियाँमा चित्त बुझायो।
टाइब्रेकरमा झापाका कर्ण लिम्बु, देवेन्द्र तामाङ, विशाल गुरुङ, र प्रवेश गुरुङले गोल गरे। संकटाका लागि हेम थापा मगर र सौजन राईको प्रहार मात्रै गोलमा परिणत भएपछि ४–२ अन्तरले झापाले उपाधि उचालेको हो। संकटाका अनिल गुरुङको प्रहार झापाका गोल रक्षक मनोज प्रधानले सहजै नियन्त्रणमा लिए भने नवीन गुरुङको प्रहार बाहिरियो।

झापाका योगेश गुरुङको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिए। खेल अवधिमा दुवैतर्फबाट गोल हुन सकेन। थप गरिएको १५ मिनेटमा पनि गोल नभएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो।

पहिलो हाफमा संकटाका लागि हेम थापा मगरले प्रहार गरेको फ्रिकिक गोलपोस्टको बारमा लागेर फर्किएको थियो। प्रतिस्पर्धात्मक खेलमा संकटा र झापा दुवै टिमले आधादर्जन प्रहार गरे पनि गोल हुन सकेन। गोल्डकपको उत्कृष्ट खेलाडी घोषित भएर झापाका विकास गुरुङले माउन्टेन बाइक प्राप्त गरे। त्यसै गरी उदीयमान खेलाडी भएर प्रताप राईले नगद ५ हजार प्राप्त गरे। उत्कृष्ट गोलकर्ता हुँदै संकटाका टम्पी अनेस्टले मोबाइल हासिल गरे। म्याच अफ सिरिज भएका झापाका निशान्त खड्काले नगद ५ हजार रुपियाँ पाए। उत्कृष्ट गोलरक्षक झापाका मनोज प्रधान, उत्कृष्ट डिफेन्स संकटाका सुरज विश्वकर्मा र उत्कृष्ट मिडफिल्डर संकटाका विश्व अधिकारीले एक–एक थान मोबाइल जितेका थिए।

प्रतिक्रिया दिनुहोस्